२०८३ बैशाख १९ गते , शनिबार

५२ वर्ष अघि हत्या गरिएका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन सहयोग गर्ने विश्वप्रकाशको आश्वासन

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ३ गते , आईतबार
५२ वर्ष अघि हत्या गरिएका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन सहयोग गर्ने विश्वप्रकाशको आश्वासन

धुलाबारी । नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले तत्कालीन नक्स्लाइट (नक्सलवादी)हरुले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन आफूले सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

गौतम हत्याको सर्जमिनको छाँयाप्रति बुझ्दै शर्माले कानुनी लडाइँमा सहयोग गर्ने र सरकारको ध्यानाकर्षण गराउन पहल गर्ने आश्वासन दिए ।

यो र यस्तै घटनामा टेकेर नै मुलुकमा ठूल्ठूला उपलब्धी भएका छन्,’  उनले भने, ‘यस घटनाका साक्षीहरु दिनप्रतिदिन घट्दै गएकाले यस्ता घटनाको अभिलेख राख्ने र यसबारेमा केन्द्रमा आवश्यक छलफलको वातावरणमा जुट्छ ।

२०२८ साल जेठ २ गते नक्स्लाइटहरुले घरेलु हतियार प्रयोग गरेर तत्कालीन ज्यामिरगढीको बिचार्नीमा बिभत्स हत्या गरेका थिए । कथित किसान आन्दोलनका नाममा सामन्त सफाया गर्ने भन्दै तत्कालीन राज्य विद्रोही वामपन्थीले कर्णबहादुरको घाँटी रेटेर हत्या गरेका थिए ।

कर्णबहादुर अर्काको घरमा हली बसेका सर्वसाधारण व्यक्ति थिए । हत्या भएको समयमा कर्णबहादुर जमिनदार रघुवीर बुढाथोकीकोमा हली बसेका थिए ।

गौतम समाज झापाले सांसद शर्मालाई मागपत्र समेत बुझाएको छ । मागपत्रमा कर्णबहादुर झापाको किसान विद्रोहको पहिलो निसाना भएको र अहिलेसम्म उनको परिवारले कहिँकतैबाट कुनै पनि प्रकारको सहयोग नपाएकाले गौतम परिवारलाई राज्यको तर्फबाट उचित सम्बोधन र  राहत माग गरिएको छ ।

कर्णबहादुरको परिवारको बिचल्ली भएपछि गौतम समाज झापाले यो मुद्दालाई उठाएको हो । समाजले घटनाका प्रत्यक्षदर्शीहरुसँग भेटेर सर्जमिन गराएको छ ।

सर्जमिन भदौ ४ गते झापाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाउने कार्यक्रम रहेको समाजका प्रवक्ता राजेन्द्र गौतमले बताए । गौतम समाज कर्णबहादुरको परिवारलाई न्याय दिलाउन समाज दृढतापूर्वक अघि बढेको उनको भनाइ छ । 

गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतम, सचिव सोमनाथ गौतम, कोषाध्यक्ष लक्ष्मीप्रसाद गौतम, सदस्य वेदनिधि गौतम, बिर्तामोड अध्यक्ष जयनारायण गौतम र मेचीनगर उपाध्यक्ष गौरीशंकर गौतम लगायतले सो क्षेत्रका सांसद शर्मालाई मागपत्र बुझाएका हुन् ।

बामपन्थीले त्यसबेला झापामा कर्णबहादुर गौतम, बुटन चौधरी, विष्णुप्रसाद विमली, इश्वरी चुडाल, रुद्रकान्त चौधरी, धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानीराम ढकालको हत्या गरेका थिए ।

सम्बन्धित समाचार