माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई बयान लिने तयारी
काठमाण्डौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो ।
पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो । सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बयान लिने काम अनुसन्धान अधिकारीहरूको रहेकाले प्रहरी प्रधान कार्यालयले त्यसमा सरोकार नराखेको बताए । ‘अनुसन्धान अधिकारीहरूलाई सम्पूर्ण अधिकार दिइएको छ। उनीहरूले अनुकूलतामा बयान लिनेछन्। त्यसमा सरकारी वकिल सहभागी हुन सक्छन् । सरकारी वकिलको कार्यालयमा हुन सक्छ, सिआइबीकै कार्यालयमा पनि हुन सक्छ वा अन्य स्थानमा पनि हुन सक्छ । यसमा अनुसन्धान गर्ने जो व्यक्ति छन्, उनीहरूले समय र स्थान निर्धारण गर्नेछन्,’ प्रहरी प्रवक्ता कडायतले भने, ‘यसमा प्रहरी प्रधान कार्यालयको कुनै सरोकार र सम्बन्ध छैन, सबै अधिकार सिआइबीलाई छ ।’
गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको थियो तर पूर्वप्रधानमन्त्री नेपाल विदेश गएकाले रोकिएको थियो । किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले ललिता निवास जग्गा प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन् ।
पूर्वप्रधानमन्त्री नेपाल सोमबार स्वदेश फर्केपछि अनुसन्धानमा सहयोग गर्ने र आफूले कुनै पनि गल्ती नगरेको बताएका थिए । त्यसैगरी यस प्रकरणमा मुछिएका अर्का पूर्वप्रधानमन्त्री भट्टराईले पनि अनुसन्धानमा सहयोग गर्ने बताइसकेका छन् । सर्वोच्च अदालतको आदेशपछि सामाजिक सञ्जालमा प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफू भ्रष्टाचारको विपक्ष र सुशासनको पक्षमा रहेको भन्दै राज्यका निकायले गर्ने हरेक अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णयलाई लिएर मुद्दा चलाउन कानुनी अड्चन रहेको भन्दै ललिता निवास प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको छैन । अख्तियारले दुवैजनासँग बयान भने लिएको थियो। बयान विशेष अदालतको मिसिलमा उल्लेख गरिएको छ ।
सरकारी वकिलको कार्यालयमा हुन सक्छ, सिआइबीकै कार्यालयमा पनि हुन सक्छ वा अन्य स्थानमा पनि हुन सक्छ। यसमा अनुसन्धान गर्ने जो व्यक्ति छन्, उनीहरूले समय र स्थान निर्धारण गर्नेछन्,’ प्रहरी प्रवक्ता कडायतले भने, ‘यसमा प्रहरी प्रधान कार्यालयको कुनै सरोकार र सम्बन्ध छैन, सबै अधिकार सिआइबीलाई छ ।’
सर्वोच्च अदालतले योगेन्द्र पौडेलेको रिट निवेदनउपर आदेश गर्दा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई पूर्ण अधिकारसहित अनुसन्धान गर्न दिने बताउँदै आएका छन् । उनले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयसहित सरकारी उच्च अधिकारीलाई बयानका लागि बोलाउने वातावरण बनाउन प्रहरीलाई निर्देशन दिइसकेका थिए ।
ललिता निवासको सरकारी जग्गा अनियमिततामा संलग्न जोसुकै भए पनि नछाड्ने प्रतिबद्धता गृहमन्त्रीले संसद्समक्ष गरेका छन् । ‘तथ्य र प्रमाणले भ्याएसम्म सबैमाथि अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई स्पष्ट रूपमा निर्देशन दिइएको छ,’ उनले प्रतिनिधिसभा बैठकमा भनेका थिए । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पाँचजना पूर्वसचिवलाई पक्राउ गर्न अदालतबाट अनुमति लिए पनि पक्राउ गरेको छैन । त्यस्तै यस मामिलामा अनुसन्धानका लागि प्रहरीले विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीलाई पनि पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ तर पक्राउ गरेको छैन । पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार, पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध गत सोमबार प्रहरीले पक्राउ पुर्जी लिएको थियो । जोशीले भने आफू फरार नभएको र कुनै पनि बेला बयान दिन गएर सहयोग गर्ने बताएका छन् । अख्तियारले चलाएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी छन् । जोशीले आफूले मन्त्री पदबाट राजीनामा दिइसकेको अवस्थामा जग्गा शोधभर्ना गर्ने निर्णय भएकाले त्यसबारे जानकारी नभएको तर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी र अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत ललिता निवासको जग्गा किनेका व्यापारीहरू भने फरार रहेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्ने कोसिस गरिरहेको जनाएको छ ।