२०८३ बैशाख १९ गते , शनिबार

ठूला नदीमा पानीको बहाब उच्च, कोशीका ५६ वटै ढोका खोलियो

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २९ गते , सोमबार
ठूला नदीमा पानीको बहाब उच्च, कोशीका ५६ वटै ढोका खोलियो

बिर्तामोड । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको छ । यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ । हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।

सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ । पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ ।

लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ ।

नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले बताए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।

नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार