२०८३ बैशाख १९ गते , शनिबार

खुला रुपमा बिक्री हुने चटपटे–पानीपुरी बन्द गर्ने काठमाण्डौ महानगरको तयारी

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २८ गते , आईतबार
खुला रुपमा बिक्री हुने चटपटे–पानीपुरी बन्द गर्ने काठमाण्डौ महानगरको तयारी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले खुला रुपमा बिक्री हुने चटपटे, पानीपुरी लगायतका पसलहरु केही समयका लागि बन्द गराउने तयारी थालेको छ । वर्षायामसँगै खुला रुपमा बिक्री हुने खानाहरुमा सरुवा रोगको जोखिम बढेको भन्दै बन्द गराउन सकिने विषयमा महानगरमा छलफल भएको हो ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यो वर्षायाममा खुला रुपमा बिक्री हुने पानीपुरी, डेरीजन्य उत्पादनलगायतका खानाबाट सरुवा रोगको जोखिम हुनसक्ने भएकाले प्रिभेन्टिब एप्रोचमा जान सकिन्छ भनेर छलफल गरेका हौं ।

महानगरपालिकाले पानीपुरीलगायत डेरीजन्य उत्पादनको परीक्षण गरेर मात्रै निर्णय गर्ने तयारी पनि गरेको छ । चटपटे, पानीपुरी, मोही, दही, खुला दूधलगायतमा पानी प्रयोग हुनसक्ने भन्दै अन्य पदार्थको परीक्षण गरेर महानगरले यस्ता वस्तुको बिक्री रोक्न खोजेको हो ।

खुला रुपमा बिक्री हुने पसल तथा बजारमा निगरानी बढाएर बर्खायाममा फैलन सक्ने संक्रामक रोग रोक्न भन्दै संयोजक डंगोलले व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी छन् । माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थमा दूषित पानीको प्रयोग भए चाँडो संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।

समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खाने कुरामा उपभोक्ताहरु झुम्मिने गरेको भन्दै उनले त्यस्ता खाने कुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउन सकिने बताएका थिए ।

सम्बन्धित समाचार