२०८३ बैशाख १९ गते , शनिबार

कांग्रेस सांसद शर्मासहितका ‘नक्कली डाक्टर’को कसुर पुष्टि भए कति हुन्छ सजाय?

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २८ गते , आईतबार
कांग्रेस सांसद शर्मासहितका ‘नक्कली डाक्टर’को कसुर पुष्टि भए कति हुन्छ सजाय?

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका नक्कली डाक्टरमाथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बिहीबार र शुक्रबार गरी शर्मासहित ८ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सांसद शर्माबाहेक ७ जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। शर्मामाथि भने बाहिरै राखेर अनुसन्धान गरिनेछ ।

अपरेसन फक्सट्रटनाम दिएर सीआईबीले चलाएको अपरेसनमा पक्राउ पर्नेमा शर्मासँगै मोरङबाट मनित चौधरी, धापासीस्थित इशान हस्पिटलमा कार्यरत श्रद्धा सिल्पकार, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरी, रामबाबु यादव, एरिना यादव, महोत्तरी निवासी रञ्जितकुमार यादव र भक्तपुरबाट पुनम थापा रहेका छन् ।

अपरेसन क्वाकका नाममा २०७३ सालमा सीआईबीले ५८ जना पक्राउ गरेको थियो । झन्डै १ हजार जना डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकामा अनुसन्धान थालेको थियो। ५८ जनामध्ये ५५ जनाले केही समयमै सफाइ पाएपछि सीआईबी थप अघि बढेको थिएन। कांग्रेस सांसद शर्मा त्यहीबेला सूचीमा भए पनि फरार भएका थिए ।

ठगीमा सफाइ पाउने भएपछि सीआईबीले यसपल्ट लिखत कीर्तेको कसुरमा अनुसन्धान थालेको हो । मुलुकी फौजदारी संहिताको दफा २७६ मा कीर्ते गर्न नहुने प्रावधान छ ।

जसको उपदफा १ मा भनिएको छ, ‘कसैले सर्वसाधारण वा कसैलाई कुनै हानी, नोक्सानी वा क्षति र्पुयाउने वा आफू वा कसैलाई कुनै लाभ र्पुयाउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ ।

यसैगरी दफा २७७ मा कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुने भनिएको छ। हाल पक्राउ परेका नक्कली डाक्टरयही दफाको उपदफा १ अनुसार कारबाहीको दायरामा आउनेछन् । जहाँ भनिएको छ, ‘कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भइ कसैले बेइमानीपूर्वक त्यस्तो लिखत सद्दे सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन ।

त्यस्तै, उपदफा ३ मा कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरे सरहको सजाय हुनेउल्लेख छ ।

पक्राउ परेकाहरुले प्रमाणपत्र तह (आइएससी)को प्रमाणपत्र नक्कली बनाएको आरोप छ । कीर्ते लिखत जानीजानी सद्दे सरह व्यवहारमा ल्याएको भन्ने कसुरमा उनीहरुमाथि अनुसन्धान हुनेछ । यदि उक्त आरोप प्रमाणित भए अन्य कुरा कीर्तेमा उनीहरुको मुद्दा चल्नेछ ।

अन्य कुरा कीर्ते गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गराउन हुने कानुनी प्रावधान रहेको छ।अभियोग ठहर भएको अवस्थामा शर्माको सांसद पद नै जानेछ ।

सम्बन्धित समाचार