सिम्रिक एयरमाथि किन लगाइयो उडान प्रतिबन्ध ?
बिर्तामोड । चार्टर फ्लाइट गर्दै आएको हेलिकप्टर कम्पनी सिम्रिक एयरमाथि नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान प्रतिबन्ध लगाएको छ । प्रािधरणको बक्यौता नतिरेको तथा कमजोर वित्तीय अवस्थालाई कारण देखाउँदै प्राधिकरणले सिम्रिक एयरलाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
प्रािधकरणको यो प्रतिबन्धसँगै सिम्रिकका चार वटा हेलिकप्टर ग्राउन्डेड भएका छन् । २१ वर्षअघि स्थापना भएको सिम्रिकसँग हाल चार हेलिकप्टर चार्टर उडानमा छन् ।
सिम्रिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाण्डौबाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए । ‘प्राधिकरणलाई बक्यौता बुझाइसकेपछि उडान प्रतिबन्ध फुकुवा हुन्छ,’ उनले भने । सिम्रिकले आर्थिक वर्ष ०७९÷८० सम्म ५५ लाख रुपैयाँ बक्यौता बुझाउनुपर्ने थियो । चालु आर्थिक वर्षको साउनमा दुई पटक गरी ८ लाख ६८ हजार रुपैयाँ बक्यौता तिरेपछि अब ४६ लाख हाराहारी बाँकी रहेको उनको भनाइ छ ।
विमानस्थल सेवा शुल्क नियमावली र नागरिक उड्डयन प्राधिकरणको नियमावलीले दिएको अधिकार प्रयोग गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिकलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । विमानस्थल सेवा शुल्क नियमावलीले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई उडानमा रोक लगाउने अधिकार दिएको छ । प्राधिकरणको नियमावललीले पनि वित्तीय अवस्था कमजोर भएका वायुसेवा कम्पनीको उडान सुरक्षामा असर पर्न सक्ने देखिए महानिर्देशकलाई उडानमा प्रतिबन्ध लगाउने अधिकार दिएको सहप्रवक्ता भुल बताउँछन् ।
सिम्रिक एयरका सञ्चालक तथा वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले भने प्राधिकरणका महानिर्देशकले पूर्वाग्रही किसिमले सिम्रिकलाई उडानमा प्रतिबन्ध लगाइएको प्रतिक्रिया दिए । प्रतिबन्धबारे पत्र प्राप्त भइनसकेको उनको भनाइ छ । ‘काठमाडौं विमानस्थलमा बिहीबार एयर ट्राफिक कन्ट्रोलर एसोसिएसन (नाट्का) को साधारणसभामा महानिर्देशक अधिकारीको आलोचना गरेको थिएँ । नेतृत्वले सही व्यवहार गर्नुपर्छ भनी बोलेको थिएँ । त्यसैको रिवार्डस्वरुप मेरो कम्पनीलाई प्रतिबन्ध लगाइयो ।
सिम्रिकले बिहीबार प्राधिकरणलाई पत्र लेखी गोरखाको स्याला उड्न तयार रहेको हेलिकप्टरलाई प्राधिकरणका कर्मचारीले महानिर्देशकको मौखिक निर्देशन भन्दै चार्टर उडान रोकेको जनाएको छ ।