अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा परे सांसद सुनिलकुमार शर्मा
बिर्तामोड । भ्रष्टाचार र अनियमितता विरुद्ध गम्भिर कदम चालिरहेको सरकारले अर्को अपरेसन शुरु गरेको छ । नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणपछि नक्कली शैक्षिक प्रमाणविरुद्धको अपरेसन शुरु गरेको हो ।
बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासहित ५ जना छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव र डा. एरिना शाह छन् । रामबाबु यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहटबाट पक्राउ गरेको हो । डा. एरिना काठमाण्डौमा पक्राउ परेकी हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ । अपरेशनको कमाण्ड डिएसपी डा. तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
प्रारम्भिक अनुसन्धानबाट आरोपितहरूले एमबीबीएस पढ्नका लागि आईएसी र बीएससीका सर्टिफिकेटहरू डुब्लिकेट बनाउने गरेको थाहा भएको छ । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाण्डौ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।
शुक्रवारसम्म नियन्त्रणमा लिएर उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुर र ठगी मुद्दामा अनुसन्धान गर्ने ब्युरोको तयारी छ । २०७८ मा पनि ब्युरोले ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेर ‘लिखत सम्बन्धी कसुर’ मा मुद्दा चलाएको थियो । त्यसबेला शर्मा भागेर जापान पुगेका थिए ।
डा. शर्माको १२ कक्षाको प्रमाणपत्र नक्कली
कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ब्युरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ब्युरो प्रमुख एआइजी बज्राचार्यले डा. शर्मालाई पक्राउ गरिएको र उनको प्रमाणपत्र नक्कली देखिएको जानकारी संसद् सचिवालयमा गराएकी छन् ।
शर्माले भारतको शैक्षिक संस्थाबाट ल्याएर प्रयोग गरेको प्रमाणपत्रबारे ब्युरोले भारतमा पनि पत्र पठाएर जानकारी मागेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘भारतबाट उहाँको प्रमाणपत्र नक्कली रहेको जवाफ आएको छ ।’
मोरङको बेलबारी–९ घर भएका शर्माको प्रमाणपत्रबारे राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ मा नै ‘अपुष्टित’ भनेर लेखेर आएको एआईजी बज्राचार्यले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ– ‘राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ को पत्रबाट १९९६ को रोल नम्बर १०११७ आइएस्सी तहको सुनीलकुमार शर्माको शैक्षिक प्रमाणपत्र अपुष्टित भनि लेखि आएको ।’