आज विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्या गर्ने सोच बनाएकाहरूसँग कुरा गर्ने तरिका
आज अगष्ट १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । विभिन्न तथ्याङ्कका अनुसार संसारमा कतै न कतै हरेक ४० सेकन्डमा कसैले आत्महत्या गर्ने गर्छन् । झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
सडक दुर्घटनापछि सबैभन्दा धेरै १५ देखि २९ वर्षका मानिसहरूले ज्यान गुमाउने आत्महत्याका कारण नै देखिएको छ । मानिसले गर्ने यस्तो चरम व्यवहार जति एक्लो देखिन्छ यसबाट ती मानिसको छोराछोरी, आमाबाबु, पती वा पत्नी, मित्रहरू वा सहकर्मीहरू समेत प्रभावित हुन्छन् ।
गत वर्ष प्रकाशित अमेरिकामा गरिएको एक अध्ययनले त कहाँसम्म भनेको छ भने आत्महत्या गर्ने एकजना व्यक्तिको कदमबाट अन्य करिब १३५ जना मानिस प्रभावित हुन सक्छन् ।
केन्टकी विश्वविद्यालयकी डा. जुली सेरेलले पत्ता लगाए अनुसार पारिवारिक सम्बन्ध भएपनि वा नभएपनि आत्महत्या गर्ने मानिससँग जसको सम्बन्ध जति निकट हुन्छ तिनमा पर्ने मानसिक आघात त्यति नै चर्को हुन्छ ।
तर यस्तो अवस्था पनि आउन सक्छ जुनबेला आत्महत्या गर्ने सोच बनाइसकेका मानिसहरूसँग यस्तो निकै गाह्रो विषयमा कुराकानी गर्नु पर्ने हुनसक्छ । त्यस्तो अवस्थामा के गर्न सकिन्छ त?
कुराकानी सुरु गर्नुहोस्
रिथिंक युके नामको मनोपरामर्श संस्थाकी प्रवक्ता एमा क्यारिंगटनले भनिन् – ‘मनमा आत्महत्या गर्ने विचार आएका मानिसहरूसँग कुराकानी गर्ने सही वा गलत तरिका छैन । सबैभन्दा महत्त्वपूर्ण त यस्तो गाह्रो विषयमा कुराकानी गर्नु नै ठूलो होस ।’
सबभन्दा पहिले त यो निकै गाह्रो कुराकानी हो भन्ने स्वीकार्नु पर्छ । जुन दिनका दिन गरिने सामान्य कुराकानी जस्तो होइन । त्यसैले यस्तो कुराकानी गर्नुपर्दा मन विचलित हुनु स्वाभाविक नै हो ।
अवस्था यो भन्दा खराब हुन सक्ला भनेर चिन्ता गर्नु पर्दैन किनकी यो पहिले नै निकै कमजोर अवस्था हो । सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्को पक्षलाई विना कुनै पूर्वाग्रह उसको कुरा सुनिदिनु नै हो ।
आत्महत्या गर्ने विचार मनमा आउनेहरूसँग कुराकानी गर्ने तरिकाबारे परोपकारी परामर्शदाताहरूले दिने सल्लाह ः
– अर्को व्यक्तिले सहज अनुभव गर्न सकिने कुनै शान्त ठाउँ रोज्नुहोस् ।
– दुवैजनासँग कुराकानीका लागि पर्याप्त समय होस् भन्ने व्यवस्था गर्नुहोस् ।
– यदि तपाईँको मुखबाट गलत कुरा निस्कियो भने नआत्तिनुहोस्। आफूलाई दोषी मान्न जरुरी छैन ।
– अर्को व्यक्तिमाथि ध्यान केन्द्रित गर्नुहोस्, आँखामा आँखा मिलाएर कुरा गर्नुहोस्। फोन अलग्ग राख्नुहोस् । आफ्नो सम्पूर्ण ध्यान त्यो व्यक्तिलाई दिनुहोस्।
– शान्त रहनुहोस्। अर्को व्यक्तिले खुलेर मनको कुरा गर्नका लागि उसलाई केही समय लाग्न सक्छ ।
– हो र होइन भन्ने जवाफ आउनेभन्दा भिन्न खाले खुला प्रश्नहरू सोध्नुहोस्। र उसले भनेको कुरा आफूले बुझे नबुझेको यकिन गर्नुहोस् ।
– बीचैमा कुरा नकाट्नुहोस् वा समाधानको उपाय नसुझाउनुहोस्। अर्को व्यक्तिले कस्तो अनुभव गरिरहेको होला भनेर आफ्नै सोचाइ प्रस्तुत नगर्नुहोस् ।
– ती व्यक्तिलाई यस्तो विषयमा विज्ञहरूको सहायता कसरी लिने भन्ने थाहा छ की छैन सोधेर हेर्नुहोस्।
जोखिममा को छन् ?
आत्महत्याको घटनाबाट सबै उमेरका मानिसहरू प्रभावित हुन्छन् तर विश्वव्यापी रूपमा हेर्दा पुरुषहरूमा यसको दर उच्च देखिएको छ ।
सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३.५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७.७ रहेको थियो ।
आत्महत्या दरको नक्शा
तर निश्चित देशहरूभित्र महिलारपुरुषको यस्तो दरमा ठूलो अन्तर र भिन्नता हुन सक्छ।
रुसमा संसारमा सबैभन्दा धेरै पुरुष आत्महत्या दर रहेको छ। सन् २०१६ मा प्रति एकलाखमा यो दर ४८ रहेको थियो जुन महिलाको दाँजोमा छ गुणाले बढी हो।
आत्महत्या र मानसिक स्वास्थ्यमा विचलनकाबीच (विशेषगरी, डिप्रेसन र मदिराको अम्मल) को सम्बन्ध सामान्यतया स्पष्ट नै रहेको छ ।
तर धेरैजसो आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन्। त्यस्तो समयमा मानिसहरू जिन्दगीका तनावपूर्ण अवस्थाहरूमा (आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध अथवा दीर्घ पीडा वा रोगका बेला) आफूलाई सम्हाल्न सक्दैनन् ।
ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, तेस्रो लिङ्गी, र कैदीबन्दीहरूमा पनि यो उच्च देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुव्र्यवहारका पीडित, आफ्ना गुमाएका र आफुलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन् ।