२०८३ बैशाख १९ गते , शनिबार

आर्यघाटबाट नियन्त्रण गरिएको शव मेची अस्पतालमा

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २२ गते , सोमबार
आर्यघाटबाट नियन्त्रण गरिएको शव मेची अस्पतालमा

बिर्तामोड । अन्त्येष्टिको लागि आर्यघाट लगिएको शव प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्राकृतिक मृत्यु नभएको आशंकामा नियन्त्रणमा लिइएको शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएकोछ ।

कनकाई नगरपालिका३ सुरुङ्गाकी ३२ बर्षीया पुजा कोचकारको मृत्यु भएपछि श्रीमानको कुटाईबाट मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा मौखिक खबर गरेका थिए । उनीहरु सँधै मादक पदार्थ सेवन गरेर झगडा गरिरहने भएकोले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमती पुजाको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयले उजुरी गरेसगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले जलाउन तयारी गरिएको शवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

स्थानीयको मौखिक उजुरीपछि शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

कुटपिटबाट पुजाको मृत्यु भएको स्थानीयले आशंका गरेपनि अस्पतालले भने कार्डियाक पल्मोनरी एरेष्ट भनेर रिपोर्ट दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनको लिभरमा समेत खराबी रहेको बुझिएको छ ।

पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने र त्यसको रिपोर्टका आधारमा अन्य प्रक्रिया अगाडी बढाइने जिप्रका झापाका सुचना अधिकारी रिजालले बताए ।

सम्बन्धित समाचार