२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा लम्की स्किन विरुद्धको खोप लगाउन शुरु

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २१ गते , आईतबार
बिर्तामोडमा लम्की स्किन विरुद्धको खोप लगाउन शुरु

बिर्तामोड । पछिल्लो समय महामारीको रुप लिएको पशुमा लाग्ने संक्रामक रोग लम्की स्किन विरुद्व बिर्तामोड नगरपालिकाले खोप लगाउन शुरु गरेको छ ।
पालिकाले वडा नम्बर १० मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन शुरु गरेको हो । लम्की स्किन असार अन्तिम सातादेखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन शुरु गरिएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
सबै वडाका कृषकहरुको घर-घरमा पुगेर पशु प्राविधिकहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाएबापत कृषकहरुले प्रतिगाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज, निडिल, प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ । १५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँभन्दा बढी खर्च हुने पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ ।
लम्की स्किन रोगविरुद्व खोप उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले लम्की स्किन सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
बिर्तामोडमा लम्की स्किनका कारण २ हजार ५ सयभन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरीरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

सम्बन्धित समाचार