२०८३ बैशाख १९ गते , शनिबार

अतिक्रमित वन खाली गर्न चेप्टी सञ्चालकको आनाकानी

सेटिङ मिलाउन माओवादी नेता गुहार्दै शिवाकोटी

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १९ गते , शुक्रबार
अतिक्रमित वन खाली गर्न चेप्टी सञ्चालकको आनाकानी

बिर्तामोड । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिले इलामको दक्षिणी चुरे क्षेत्र अतिक्रमण गरेको भन्दै खाली गर्न निर्देशन दिएपनि कम्पनीका सञ्चालकले वन क्षेत्र खाली गर्न आनाकानी गरिरहेको पाइएको छ । वन क्षेत्र अतिक्रमण गरी बनाइएको चेप्टी फनपार्कमा भएको अतिक्रमण हटाउन स्थानीय वन प्रशासन र प्रदेश वन मन्त्रालयसमेत अझै तयार भएका छैनन् ।

छानबिनका लागि पटक पटक समिति बनाएर अतिक्रमण हटाउने सुचना प्रकाशित गरेको डिभिजन वन कार्यालय इलामले निर्देशन अवज्ञा गरेको फनपार्क विरुद्ध थप कदम चाल्न सकेको छैन ।

इलामको माई नगरपालिकामा सरकारी वनको जमिन हडपेर फनपार्क चलाउँदै आएको प्रालिलाई अतिक्रमित जग्गा खाली गर्न र सो जमिन राष्ट्रिय वनमा समावेश गर्न भन्दै जिल्ला प्रशासन कार्यालय इलाम, माई नगरपालिका र डिभिजन वन कार्यालयलाई अख्तियारले गत साल साउन २० गते पत्राचार गरेको भएपनि हालसम्म सो निर्देशन कार्यान्वयन भएको छै ।

इलामको माई नगरपालिका२ स्थित चेप्टिमा स्थानीय सरस्वती सामुदायिक वनको ४५ रोपनी सरकारी र ऐलानी जमिन हडपेर फनपार्क चलाउँदै आएको प्रालिलाई हडपेको जमिन खालि गर्न अख्तियारले निर्देशन दिएको थियो । २ सय १८ रोपनी क्षेत्रमा फैलिएको फनपार्कमा प्रालिको नाममा ४१ रोपनीमात्र जमिन छ ।

त्यसमा ४५ रोपनी सामुदायिक वनको र बाँकी १ सय ३२ रोपनी जमिन ऐलानी जमिन छ । ४५ रोपनी सामुदायिक वनको जमिनमा विभिन्न प्रक्रिया र्पुयाएर लिजमा लिने दाउमा प्रालि रहेको बुझिएको छ ।

अतिक्रमण हटाउनका लागि डिभिजन वन कार्यालयले ३५ दिने सुचना प्रकाशित गरेको थियो । जेठ १३ गते नै ३५ दिने पुगेपनि चेप्टी फनपार्कको विषयमा अझै वन प्रशासनले ठोस निर्णय लिन सकेको छैन । डिभिजन प्रमुख दान वहादुर श्रेष्ठले पटक पटक अतिक्रमित क्षेत्र हटाउनका लागि बैठक भएको तर माइ नगर पालिका प्रमुख बैठकमा नआएकाले समस्या भएको बताउँदै आएका छन् । माइ नगरपालिका प्रमुख एवम् तत्कालिन वडा नम्बर २ का वडाध्यक्ष खम्बासिंह लिम्बुको अगुवाइमा चेप्टी फनपार्क निर्माण गर्ने क्रममा स्थानीय सरस्वति सामुदायिक वन क्षेत्र अतिक्रमण भएको आरोप लागेको छ ।

लिम्बुले फनपार्क बनाउने क्रममा उक्त पार्क जाने सडक बनाउन सुखानी सामुदायिक वन क्षेत्रमा डोजर लगाएर वन फँडानी समेत गरेका थिए । डिभिजन प्रमुख श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा चाँडै नै अतिक्रमण खाली गराउन पहल गरिने जानकारी दिए । उनले अख्तियारले अतिक्रमित भु भाग हटाउन जिल्ला प्रशासन, वन र माइ नगरपालिकालाई पत्राचार गरेकोमा माइ नगरपालिकाका प्रमुख लिम्बु अनुपस्थित हुने गरेकाले बैठकबाट ठोस निर्णय नभएको बताए । ऐलानी पर्तिको जग्गामा बहाल विटौरी भन्दै विभिन्न नाटक भएको र अतिक्रमित जमिन वन क्षेत्रकै कायम हुने बताए ।

यता राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी पार्क बनाउन लगानी गरेका मुख्य लगानीकर्ता दिनेश शिवाकोटीले अख्तियारले जग्गा खाली गराउन लगाएको भन्दै अन्तरिम आदेशको माग गरी उच्च अदालत विराटनगर इलाम इजलासमा निवेदन दिएका थिए । तर उनको माग अदालतले अस्विकार गरेको छ ।

मुद्धा पेशीको प्रकृयामा रहेको छ । अदालतको आदेश पछि पनि वन प्रशासनलाई फनपार्कको अतिक्रमण हटाउन बाटो खुलेको छ । शिवाकोटीले वनको ३५ दिने सुचना पछि स्थानीय भेला पारेर चेप्टीमा अतिक्रमण नगरेर विकास गरेको दावी गरेका थिए । उनले चेप्टी फनपार्कमा कति लगानी गरिएको हो र कति आम्दानी भइरहेको छ भनेर जानकारी भने दिएनन् । सरकारी जमिनमा पार्क निर्माण गरी मुस्त कमाइरहेको शिवाकोटी समूह स्थानीय दल र बासिन्दालाई उकासेर जग्गा आफ्नै हो भन्ने देखाउन उद्यत रहेको छ ।

अतिक्रमणमा संलग्न भएका भनिएका माई नगरका प्रमुख खम्बासिं लिम्बुले चेप्टी फनपार्कमा भएको अतिक्रमण हटाउन चासो दिएका छैनन् । उनी पटक पटक डिभिजन वन कार्यालयमा र जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा समेत अनुपस्थित भएका थिए । नगरपालिका मार्फत चेप्टी फनपार्क स्थानीय तहमा हस्तान्तरण गरी यो मुद्धा ओझेलमा पार्न पनि बीचमा कसरत भएको पाइएको छ । तर लिम्बु सहितका लगानीकर्ताको धेरै लगानी डुवेकाले यो पार्क हस्तान्तरण गर्न उनीहरु तयार नभएको बताइएको छ ।

स्थानीय तहले समेत अख्तियारमा मुद्धा परेको विषयमा अगाडि बढ्न चाहेर पनि नहुने भएको छ । यस्तै शिवाकोटी समूह संघीय मन्त्रीपरिषदमा निर्णय गराएर लिजमा लिन सकिन्छ कि भन्दै नेता गुहार्न राजधानी पुगेको समेत चर्चा चलेको छ । तर देशमा ललीता निवास र भुटानी शरणार्थी जस्ता गम्भिर विषयमा सरकारले हात हालेकाले सजिलै चेप्टी विषयमा निकास हुने नदेखिएपछि शिवाकोटी समूह निराश भएर फर्किएको थियो । शिवाकोटी अहिलेपनि माओवादी नेताहरु झापा आउँदा भेट्न पुग्ने गरेको स्रोतको भनाई छ ।

सम्बन्धित समाचार