२०८३ बैशाख १९ गते , शनिबार
कनकाईमा सोमबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
बिर्तामोड । कनकाई नगरपालिका वडा नम्बर ४ त्रिवेणी चोकमा सोमबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ३ प ७०७९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको योद्धा पिकअपले ठक्कर दिँदा सोहि स्थान बस्ने ३५ बर्षीय शम्भु लिम्बुको मृत्यु भएको हो ।
सोमबार राति साढे आठ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक कनकाई –४ का सागर लिम्बु र शम्भु घाइते भएको र उपचारका लागि बिर्ता सिटी अस्पतालमा लगिएकोमा शम्भुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक सागरको अवस्था सामान्य रहेको र सोहि अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिएर फरार भएको पिकअपको खोजी भइरहेको प्रहरीले जनाएको छ ।