२०८३ बैशाख १९ गते , शनिबार

‘मानव–बाघ सहअस्तित्व’ नारासहित विश्व बाघ दिवस मनाइँदै

पाँच बर्षमा बाघको आक्रमणबाट ५८ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १३ गते , शनिबार
‘मानव–बाघ सहअस्तित्व’ नारासहित विश्व बाघ दिवस मनाइँदै

काठमाण्डौ । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा मानवबाघ सहअस्तित्वरहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी रिङटोनबज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानवबाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवसमनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर र्पुयाउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी संख्याले बाघ बढाउन सफल भएको छ ।

उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए ।  साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको संख्या बढेर दुई ३५ पुगेको थियो ।

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु

नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् ।

त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार