२०८३ बैशाख १९ गते , शनिबार

राजनैतिक हत्या गरिएका कर्णबहादुर गौतमको सत्यतथ्य छानबिन गर्न माग

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ९ गते , मंगलबार
राजनैतिक हत्या गरिएका कर्णबहादुर गौतमको सत्यतथ्य छानबिन गर्न माग

इटाभट्टा । कर्णबहादुर गौतमको निर्मम र बीभत्स हत्या भएको ५२ वर्षपछि  सर्जमिनसहित सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । गौतमको परिवार बिचल्लीमा परेको, राज्यपक्षले हालसम्म कुनै सहयोग नगरेको, क्षतिपूर्ति र सामन्य मानवीय सहयोगसमेत नगरेको निष्कर्षसहित गौतम समाज झापाले सत्यतथ्य सहित सर्जमिनको माग गरेको हो । 

परिवारका तर्फबाट जेठो छोरा ललितकुमार गौतम र कान्छी बुहारी धनमाया गुरुङ गौतमले न्यायका लागि राज्यपक्षको ढोका ढक्ढक्याएका छन् । उनीहरूले घटनाको स्थलगत सर्मिन गरी यथार्थ बाहिर ल्याउन माग गरेका हुन् ।

तत्कालीन नक्सली विद्रोहीहरुले कर्णबहादुर २०२८ साल जेठ २  गते झापा साबिक ज्यामिरगढी विचार्नीचोक नजिक लालझोडा भन्ने स्थानमा घरेलु हतियार (भाला,चुप्पी) रोपेर बीभत्स हत्या गरेका थिए । निर्दाेष कर्णबहादुर त्यसबेला रघुवीर बुढाथोकीको घरखेतमा मजदुरी गर्थे ।

त्यसबेला नक्सलपन्थी वामपन्थी समूहले  रघुवीरको हत्या गर्ने योजना बनाएको थियोे । रघुवीरको हत्या गर्न नसक्ने देखिएपछि तत्कालीन समयका धनाढ्यहरुलाई तर्साउनका लागि सो समूहले  सामन्तको घोडाभन्दै कर्णबहादुरको हत्या गरेको थियो ।

नक्सलबारीबाट उत्थान भएको वामपन्थी विचार अङ्गालेका र  नक्सलवादी घटनाबाट प्रभावित भएका केही व्यक्तिले त्यसबेला टाउको काट्ने अभियान चलाएका थिए । उनीहरूले त्यसलाई सामन्त सफाया गर्ने झापा विद्रोहको नाम दिएका थिए ।

गौतम समाज झापाले सोधेको छ– ‘बीभत्स हत्या गरिएका निर्दाेष कर्णबहादुरलाई वामपन्थी सरकारले कसरी हे¥यो, हेरिरहेको छ र  हेर्छ ?’

कर्णबहादुर झापा विद्रोहको योजनामा २०२८ सालमा राजनैतिक हत्या गरिएका पहिलो व्यक्ति हुन् ।

गौतम समाजले स्पष्ट पारेको छ, ‘सोझा कर्णबहादुर जमिन्दार थिएनन् । उनी समाजसेवा साथै सो बेला त्यसक्षेत्रका  जमिन्दार रघुवीरको खेतबारीमा काम समेत गर्दथे । कर्णबहादुर त्यो बेला ज्यामिरगढी गाउँ पञ्चायतको सो क्षेत्रको वडाध्यक्ष समेत थिए ।

त्यससबेला झापामा वामपन्थी झुकाव र राजनैतिक चेतना अग्रणी थियोे भनिन्छ । त्यही निष्कर्षका साथ एकाकार भएका युवाले सामन्तहरुले गरिब, निमुखामाथि  अन्याय गरेको स्वघोषणा गरेर झापाका धेरै जग्गावाला विरुद्धमा वामपन्थीले आक्रमण गर्ने योजना बनाएका थिए । त्यही क्रममा जमिन्दार रघुवीरको सेवक रहेका कर्णबहादुरको हत्या गरेको जानकारहरु बताउँछन् ।

कर्णबहादुरको हत्याको कारुणिक दृश्य भाइ  हेमबहादुर गौतम यसरी सुनाउँछन्, ‘त्यसबखत म  ज्यामिरगढीमै थिएँ । २०२८ सालमा सामन्तको घोडा भनेर दाजुलाई हतियाधारीले मारे । दाजुलाई देख्दा शरीरमा रगतैरगत थियो, चोटैचोट देखिन्थ्यो, भुइँ भिजेको थियो ।’  मारिएका आफ्ना दाजुको हत्याको घटना उनी बारम्बार सुनाउँ छन् । तर, न्याय दूर बनिरहेको छ ।

हेमबहादुरको साविक पहाड इलाम जिल्लाको बरबोटेस्थित भोर्लेनी हो । उनी अहिले ज्यामिरगढीमा बस्छन् हाल ज्यामिरगढी मेचीनगर नगरपालिका१५ मा पर्छ ।

नक्सलवादीहरुबाट हत्या गरिएका कर्णबहादुरको परिवार अहिले बेहाल अबस्थामा इँटाभट्टा दक्षिणको हेल्दुबारी गाउँमा बसेको छ ।  कर्णबहादुरको परिवार सरकारबाट आर्थिक सहयोगको अपेक्षामा छ जसले उनीहरूको पीडामा मल्हमपट्टी हुन्छ ।

कर्णबहादुरका जेठा छोरा अविवाहित छन् । पारिवारिक पीडाले आफू अविवाहित बसेको सुनाउँछन् । कर्णबहादुरका कान्छो छोरा तिलकबहादुर बेपत्ता छन् । उनको कुनै टुङ्गो छैन ।

कर्णबहादुरकी कान्छी बुहारी धनमाया शारीरिक रुपले अशक्त छन् । धनमायाकी एकजना छोरी  दृष्टिविहीन छन् । अर्की छोरी वैदेशिक रोजगारीमा गएर जोडेको १ कठ्ठा जमिनमा उनीहरूको बसोबास छ । नगरपालिकाले दिने मासिक भत्ताले उनीहरूको गुजारा चलेको छ ।

गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमको नेतृत्वमा जिल्ला सचिव सोमनाथ गौतम, कोषाध्यक्ष लक्ष्मीप्रसाद गौतम, प्रवक्ता राजेन्द्र गौतम, गौतम समाज मेचीनगर१५ का वडाध्यक्ष रामचन्द्र गौतम, समाजका पूर्वजिल्ला सहसचिव पदम गौतम र सदस्य उमाकान्त गौतम सहितको टोलीले वडाध्यक्ष गुणराज भट्टराई (राजन) लाई मागपत्र बुझाएको छ ।

मागपत्रमा २०२८ सालमा तत्कालीन नक्सली बिद्रोही पक्षबाट किसान विद्रोहको नाममा गरिएको पहिलो हत्यामा परेका निर्दाेष कर्णबहादुर र उनको परिवारलाई राज्यबाट सम्मानसहित सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।

वडाको सर्जमिन र सिफारिस प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापामार्फत थप प्रक्रिया अघि बढाउने तयारी भएको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताए ।

यो विषयमा झापाक्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य  तथा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पटकपटक छलफल भएको छ ।

मेचीनगर१५ का वडाध्यक्ष भट्टराईले सत्यतथ्य बुझेर समाजलाई सर्जमिन र सिफारिस दिने वचन दिएका छन् । आफ्नो तर्फबाट गर्ने काम छिटो सक्ने आश्वासन भट्टराईले दिएका छन् ।

प्रमाण र आवश्यक कागजातसहित प्रक्रिया अघि बढेपछि कर्णबहादुरको परिवारलाई न्याय दिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सांसद शर्माले प्रतिबद्धता व्यक्त गरेको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताए ।

कोको सामेल थिए झापा विद्रोहमा ?

मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे, विरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइकेल, केपी ओली, सिपी मैनाली, आरके मैनाली, नारायण श्रेष्ठ लगायत । अधिकारी, ओली र मैनालीद्वय बाहेक अरुलाई पञ्चायती सरकारले २०२८ सालमा झापा र इलामको सीमा सुखानीमा पुर्याएर सफाया गरेको थियोे । जसलाई नेपाली कम्युनिष्टले सुखानी हत्याकाण्ड भन्छन् । सुखानीलाई मक्कामदिनामान्छन् । 

त्यसबेला झापामा कोको मारिए

कर्णबहादुर गौतम, बुटन चौधरी, विष्णुप्रसाद विमली  इश्वरी चुडाल, रुद्रकान्त चौधरी, धर्मप्रसाद ढकाल र छोरा ज्ञानीराम ढकालको हत्या गरिएको थियो ।

ढकाल बुबाछोराको साँझ खाना खाँदै गरेको अवस्थामा काटेर हत्या गरिएको थियोे । विद्यार्थी ज्ञानीराम अघिल्लो दिन मात्रै घर आएका थिए ।

सम्बन्धित समाचार