दुर्गापुरमा छोटा हात्तीसँग मोटरसाइकल जुध्दा मोसा चालकको मृत्यु
बिर्तामोड । मेचीराजमार्ग सडक खण्ड अन्तर्गत कनकाई नगरपालिकाको दुर्गापुरमा छोटा हात्ती र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । विहीबार विहान ७ बजेर १० मिनेट जाँदा भएको दुर्घटनामा परी गौरादह नगरपालिका १ का कुमार दर्जीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र–१–०१–००१ च ७४०७ नम्बरको छोटा हात्ती र विपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएको र उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउँने बित्तिकै चिकित्सकले मृत घोषित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव अस्पतालमा रहेको बताइएको छ ।
मोटरसाइकल, छोटा हात्ती र चालक कनकाई नगरपालिका वडा नम्बर ४ का ३३ बर्षीय पशुपति ओली इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात घटनास्थलमा केहिबेर तनाव भएको थियो । स्थानीयबासीले करिब एक घण्टा राजमार्ग बन्द गराएका थिए ।