‘ब्रेक सु’मा लुकाएर ल्याएको एक क्विण्टल सुन बरामद
बिर्तामोड । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिमाणमा सुन बरामद भएको छ । मंगलबार बेलुकी ‘ब्रेक सु’ भनेर ल्याइएको सामानलाई राजस्व अनुसन्धान विभागले जाँच गर्दा त्यसमा ९० देखि १०० किलोबराबरको सुन रहेको पाइएको जनाइएको छ । चिनियाँ, भारतीय र नेपाली नेपालीको मिलेमतोमा भारततर्फ निकासी गर्न उक्त सुन ल्याइएको आशंका गरिएको छ । ‘ब्रेक सुको तौल १५० किलोभन्दा बढी छ,’ स्रोतले भन्यो। बुधबार राति अबेरसम्म १६० टुक्रा सुन फेला परिसकेको बताइएको छ ।
प्रहरीले मंगलबार र बुधबार गरेको अप्रेसनबाट ठुलो परिमाणमा सुन बरामद गरेको हो। हङकङबाट ल्याइएको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार मंगलबारबाटै सुरु भएको अप्रेसन बुधबार राति अबेरसम्म जारी रहेको थियो । ‘क्याथे प्यासिफिक’को प्लाइटमार्फत ल्याइएको उक्त सुन कार्गोमा भेटिएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक सुमा राखेर सुन नेपाल ल्याइएको थियो। सुनको तौल ८० किलोभन्दा माथि होला। हामी अझै अप्रेसनमै छौं,’ महानिर्देशक ढुंगानाले भने । विभागको विशेष सूचनाका आधारमा टोलीले विमानस्थल भन्सारमा छापा मारेको थियो ।
त्यसक्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमै जोडेर ल्याइएको अवस्थामा सुन बरामद भएको हो । सुन बरामदसँगै चार व्यक्तिलाई पक्राउ गरिएको छ । भुजेल थरका एक भन्सार एजेन्ट, राई थरका एक ट्याक्सी चालकसहित चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तीन महिनाअघि खोलिएको एक कम्पनीका नाममा पटकपटक मोटरसाइकल र स्कुटरका पार्टपुर्जा ल्याउने गरिएको विभाग स्रोतको दाबी छ । ढुंगानाका अनुसार विभागका कर्मचारीहरूले ती पार्टपुर्जा जाँचपास गरेपछि भन्सार हाताबाट बाहिर लगिएको थियो । ती पार्टपुर्जामा सुन राखेर ल्याइएको सुराकीका आधारमा खोज्दै जाँदा विमानस्थल गेटबाहिरबाट सुन जोडिएका पार्टपुर्जा बरामद भएका हुन् । अनुसन्धान विभागका एक कर्मचारीका अनुसार स्कुटरको पार्टस्सँगै जोडेर ल्याइएका कारण परिमाण अझै यकिन हुन सकेको छैन । सुन तस्करीको वास्तविक मालिक भने पक्राउ नपरेको प्रहरीको भनाइ छ । विभागलाई मंगलबार बिहानैबाट सुराकी आएको र आगमन कक्षबाट सुन बाहिरिएको अवस्थामा बरामद भएको स्रोतले जनाएको छ । एक्सरे मेसिनमा पनि सुनजस्तो वस्तु नदेखिएको तर स्कुटरको पार्टस्मा सुन राखेर ल्याएको सुराकी परेपछि विभागका कर्मचारी बुधबार बिहानै भन्सार कार्यालयमा पुगेका थिए । ‘एकप्रकारको अप्रेसन मंगलबारबाटै सुरु भएको थियो तर बुधबार राति अबेरसम्म पनि सकिएको छैन,’ त्यही रहेका एक कर्मचारीले बताए । विमानस्थलबाट यसरी अवैध रूपमा कति सुन आउँछ भन्ने यकिन नभए पनि दैनिक २२ किलोभन्दा बढी तस्करीको सुन आउने गरेको छ ।