निर्दोषलाई फसाउन खोजेको भन्दै इटहरीमा प्रदर्शन
बिर्तामोड । ठगी मुद्दामा फसाउन खोजेको जनाउँदै इटहरी वडा नं. १९ तरहराका लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै बुधबार इटहरीमा प्रदर्शन गरिएको छ । लालबहादुरका आफन्त तथा गाउँलेहरुले इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
सुनसरी जिल्ला अदालतले ठगी मुद्दामा विश्वकर्मालाई १८ महिना जेल सजाय सहित तीन करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसलाले अन्यायमा परेको भन्दै लालबहादुर पक्षले पुनरावेदन दिएका छन् । तर, उच्च अदालतले एक वर्ष बित्दा पनि फैसला नगरेपछि प्रदर्शन गरिएको हो ।
इटहरी वडा नं. २० मा संचालित सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा काम गर्दै आएका लालबहादुर झुम्का कारागारमा छन् । ज्वेलर्सका मालिक दिपक गजमेरले बचतकर्ताको बचत अपचलन गरेपछि पासबुकमा हस्ताक्षर गरेको आधारमा लालबहादुरलाई दोषी करार गरिएको हो ।