सयौँ नेपालीलाई चिनियाँद्वारा म्यानमारमा बन्धक, चरम यातना दिँदै ठगी गर्न लगाईँदै
काठमाण्डौ । राम्रो रोजगारीको प्रलोभनमा म्यानमार र्पुयाइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् ।
महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो समय करेन्ट लगाएर चरम यातना दिन थालेपछि पीडितका परिवार हारगुहार गर्दै प्रहरी र परराष्ट्र मन्त्रालय धाउन थालेका छन् ।
म्यानमारको राजधानीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक छन् । त्यहाँ उनीहरूलाई अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार अनलाइनमार्फत ठगी गर्न नसके करेन्ट लगाएर यातना दिने गरिएको पीडितहरूले बताएका छन् । फर्कन खोज्दा पनि चिनियाँले लाखौँ फिरौती माग्ने गरेका छन् । केही फिरौती बुझाएर हालै फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारको पर्खाइमा छन् । चरम यातनाका कारण कतिपय गम्भीर बिरामीसमेत भएको म्यानमारबाट शुक्रबार फर्किएका एक युवकले बताए । फर्किएका युवक १० हजार अमेरिकी डलर चिनियाँलाई बुझाएर मुक्त भएका हुन् ।
फिरौती बुझाएर हालै ६ जना फर्किएका छन् । गत शुक्रबार चार तथा आइतबार दुई नेपाली युवक काठमाडौं आइपुगेका हुन् । उनीहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । जसका आधारमा ब्युरोले एक चिनियाँसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भयावह अवस्था छ, उद्धारको पहल भइरहेको छ ः एसएसपी जीवनकुमार श्रेष्ठ प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो
ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार म्यानमारमा बन्धक बनेका १३ जनाका परिवारले उद्धारका लागि हालै निवेदन दिएका छन् । ‘उनीहरूको उद्धारका लागि हाम्रोतर्फबाट पहल गरी सम्बन्धित निकायमा पत्राचार गरेका छौँ, त्यहाँ समस्या भयावह नै रहेको बुझिन्छ,’ उनले भने, ‘नेपालमा यसमा संलग्नमाथि हामीले अनुसन्धान अघि बढाएका छौँ ।’
ब्युरोले २७ असारमा यस्तो मानव तस्करीमा संलग्न चिनियाँ नागरिक लियाङ जुनलाई पक्राउ गरेको थियो । मंगलबार सुनिता नेपालीलाई पनि पक्राउ गरेको छ । एक वर्षदेखि नै चिनियाँ समूहले नेपालीलाई ‘अनलाइन स्क्यामिङ’मा लगेर बन्धक बनाई काममा लगाएर यातना दिएको विषयमा प्रहरीमा उजुरी पर्दै आएको थियो । केही नेपालबाट फिरौती बुझाएर फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारका लागि सरकारसँग हारगुहार गर्दै आएका छन् ।
आफूहरूले महिनौँदेखि म्यानमारस्थित नेपाली दूतावासमा सम्पर्क गरे पनि विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र भएकाले आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको मंगलबार भेटिएका एक पीडित युवकका आफन्तले बताए । मोबाइल पनि प्रयोग गर्न नदिने र बन्धक बनाई लामो समय अवैध काममा लगाएर शोषण हुने गरेको भन्दै पीडितहरूले उद्धारका लागि आग्रह गरेका छन् ।
म्यानमारमा सैनिक शासन रहेको र चिनियाँहरूको क्याम्प रहेको ठाउँमा विद्रोहीको प्रभाव रहेकाले उद्धार सम्भव नभएको भन्दै नेपाली दूतावासका अधिकारी पन्छिँदै आएका छन् । सो स्थानमा भारतलगायत अन्य देशका नागरिकलाई पनि भिजिट भिसामा लगिएको छ । भारतीय नागरिकको भने हालै भारत सरकारले उद्धार गरेको छ । तर, सरकारले नै पहल गर्न नसक्दा नेपालीको उद्धार हुन सकेको छैन ।
शुक्रबार फर्किएका युवकका अनुसार उनी कार्यरत रहेको कम्पनीमा मात्र करिब ६० नेपाली छन् । यस्ता दर्जनौँ कम्पनीमा नेपाली रहेको उनको भनाइ छ । धेरैजसो गत मंसिर, पुसमा त्यहाँ पुगेकाहरू छन् । गएको एक–दुई महिनादेखि नै धेरैले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गर्दै आएका छन् ।
थाइल्यान्ड भन्दै झुक्याएर म्यानमार
धेरैलाई थाइल्यान्डमा कम्प्युटरसम्बन्धी काममा लगाइदिने भन्दै म्यानमार लगिएको छ । कतिपयलाई विमानबाट त केहीलाई बैैंककबाट गाडीमा राखेर म्यानमारको म्याओद्दी र्पुयाइएको छ । त्यहाँ लगेपछि उनीहरूले भनेअनुसार केटी बनेर अमेरिकी नागरिकसँग च्याट गर्न लगाउने र लगानी गर्न भनेर पैसा हाल्न लगाई ठग्ने काममा लगाउँथे । उनीहरूले भिडियो च्याटमा कुरा गर्न चाहेमा केही रसियन युवतीसमेत राखिएको थियो ।
जसले ठग्न सक्छ उसलाई तलब दिने र ठग्न नसक्नेलाई करेन्ट लगाउनेदेखि विभिन्न किमिसका यातना दिने गरिएको छ । पासपोर्ट पनि सुरुमै चिनियाँले लिने गरेका छन् । दिनमा एकपटक मात्र उनीहरूलाई मोबाइल चलाउन दिइन्छ । मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठ भन्छन्, ‘पीडितका अनुसार एक किसिमको दास बनाएर उनीहरूलाई त्यहाँ चिनियाँले राखेका छन् ।’
ठूलो कम्पाउन्ड भएको क्याम्पभित्र राखेर त्यसरी अवैध काममा लगाउने गरिएको छ । जहाँ भाग्न पनि सम्भव नभएको आइतबार फर्किएका एक पीडितले बताए । फिरौती पनि अवैध माध्यमबाट बुझाउन लगाउने गरिएको छ ।
आइतबार फर्किएका युवक नेपालमा लघुवित्तको जागिर छाडेर त्यहाँ पुगेका थिए । सुरुको दुई महिनामा दुई लाख कमाइ भएको र त्यसपछि चिनियाँले बन्धक बनाएर यातना दिएको उनले बताए । चार महिनासम्म पनि सरकारले उद्धार नगरेपछि आफू फिरौती बुझाउन बाध्य भएको उनको भनाइ छ । उनलाई चिनियाँ गिरोहसम्म सम्पर्क गराइदिने सुनिता नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरिसकेको छ ।
धेरैजसो कमजोर आर्थिक अवस्था भएका युवक म्यानमार पुगेका छन् । उनीहरूले फिरौती पनि बुझाउन सकेका छैनन् । छोराको उद्धारको आग्रह गर्दै नुवाकोटका एक वृद्ध मंगलबार बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोको कार्यालय पुगेका थिए । च्यातिएको चप्पल लगाएर पुगेका उनी प्रहरीसँग भन्दै थिए, ‘मसँग खाजा खाने पैसा छैन, बाबु १ कसरी लाखौँ फिरौती बुझाऊँ ? छोराको जसरी पनि उद्धार गरिदिनुर्पयो ।’ परराष्ट्र मन्त्रालय र म्यानमारस्थित नेपाली दूतावासलाई पटक–पटक आग्रह गर्दा पनि उद्धार हुन नसकेको पीडितका आफन्तको भनाइ छ ।