ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने, पाँच पटक सवारी नियम उल्लंघन गरे लाइसेन्स निलम्बन हुने
बिर्तामोड । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलो पटक ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ । कार्यालयले यो सँगै श्रावण १ गतेबाट सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न ट्राफिक भोइलेसन रेकर्ड सिस्टम (टीभीआरएस)समेत लागू गरेको हो ।
यो व्यवस्था पहिलो चरणमा मोरङको बिराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका भित्रका क्षेत्रहरुमा लागु गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम नियमानुसार नगदी रसिद मार्फत गरिदै आएको जरिवानालाई प्रबिधि मैत्री एवं पारदर्शी बनाई व्यवस्थित गर्न यो प्रणाली लागू गरिएको कार्यालयले जनाएको छ । यो प्रणालीमार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले नियमानुसार जारी गर्ने २४ घण्टे पुर्जी दिईने र नजिकको राष्ट्रिय बाणिज्य बैंक मार्फत राजश्व दाखिला गरे पश्चात मात्र ट्राफिक कारवाहीका लागि खिचिएका कागजपत्र फिर्ता दिईने छ ।
टीभीआरएसमार्फत सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गरिने भएको हुँदा ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरुको नियमानुसार सवारी चालक अनुमति पत्र निलम्बन हुने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशका अन्य स्थानमा समेत टीभीआरएस र अनलाईन डिजिटल पेमेन्टमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय इटहरीबाट थप पहल भईरहेको छ ।