२०८३ बैशाख १९ गते , शनिबार

आज कर्कट संक्रान्ति तथा सोमबारे औँशी

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १ गते , सोमबार
आज कर्कट संक्रान्ति तथा सोमबारे औँशी

बिर्तामोड । आजबाट साउन महिना शुरु भएको छ । विरलै पर्ने सोमबारे औँशीपनि आजै परेको छ । हिन्दु धर्मावलम्बीहरुले ठूला जलाशयबाट जल लगेर शक्तिपीठ विशेष गरी शिवालयहरुमा चढाउने गरेका छन् ।

यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । झापाको अर्जुनधारा जलेश्वर, धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ ।

साउन महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।

श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सुस्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।

यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ ।

सम्बन्धित समाचार