२०८३ बैशाख १९ गते , शनिबार

हेवा खोलामा बन्यो बेलिब्रिज, ताप्लेजुङ आवागमनमा सहजता

sajilo news
परिवेश मिडिया
२०८० असार ३१ गते , आईतबार
हेवा खोलामा बन्यो बेलिब्रिज, ताप्लेजुङ आवागमनमा सहजता

बिर्तामोड । पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गमा सवारी आवागमन सुचारु भएको छ । बेलिब्रिज निर्माण भएसँगै लामो समयदेखि ताप्लेजुङ आवागमनमा भएको जटिलता हटेको हो ।

आजबाट हेवा खोलास्थित मेची राजमार्गमा बेलिब्रिज निर्माण सम्पन्न भई यातायात सहजरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत असार ३ गते आएको अविरल बर्षाका कारण हेवा खोलामा रहेको मोटरेवल पुल बगाई मेची राजमार्ग अवरुद्ध भएको थियो । सोको वैकल्पिक रुपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरि सवारी साधनहरुको मुश्किलले आवतजावत भइरहेको थियो । पुल ४८.८० मिटर लम्बाईको रहेको छ ।

प्रहरीले बेलिब्रिज पुल प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ :

१. सो पुलमा आज साना सवारीसाधनहरुलाई प्राथमिकतामा राखी क्रमशः पछि ठुला सवारीसाधनहरु सञ्चालन गरिने भएको हुँदा अनावश्यक रुपमा सडक जाम नगरिदिन ।

२. सो पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग गर्न ।

३. पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन र बालबालिका तथा बृद्धबृद्धालाई एक्लै सो पुलको प्रयोग गर्न नदिन ।

४. बेलिब्रिजमा तोकिएको भारवहन क्षमता (२५ टनसम्म) भन्दा बढी भारबहन गरी ढुवानी गर्न नमिल्ने भएको हुँदा तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न ।

सम्बन्धित समाचार