२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभासहित आजका थुप्रै बैठक स्थगित

sajilo news
परिवेश मिडिया
२०८० असार २७ गते , बुधबार
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभासहित आजका थुप्रै बैठक स्थगित

बिर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि आजका लागि तय भएको राष्ट्रिय सभासहित थुप्रै बैठक स्थगित भएको छ । नर्भिक अस्पतालमा उपचाररत सीता दाहालको आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु  हुनेछ ।

भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।  विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।

केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमपनि स्थगित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आजका लागि आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हो ।

सामाजिक सुरक्षा कोषले प्रधानमन्त्रीको प्रमुख आथित्वमा योजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगित गर्न आग्रह आएपछि कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए । अब उपयुक्त समयमा कार्यक्रम आयोजना गरिने रेग्मीले बताए ।

कोषले यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सुरक्षा योजनामा समावेश गरेको थियो ।

सम्बन्धित समाचार