वडाध्यक्ष प्रसाई सेवा दिन किन गए नगरपालिका ?
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई मंगलबार नगरपालिकाको प्राङ्गणमा टेबल राखेर बसेपछि सबै जना अचम्मित बने । प्रसाईले सेवाग्राहीलाई सेवा लिन नगरपालिका नै बोलाए । सेवाग्राही वडाध्यक्षको सहि गराउन सिफारिसलगायतका कागजात लिएर नगरपालिका नै आए ।
वडा नम्बर ५ का वडासचिव विमल पोखरेलको कार्यशैलीप्रति आजित बनेर विरोध स्वरुप नगरपालिका आएको वडाध्यक्ष प्रसाईले बताए । ‘सँधै वडा सचिवलाई खोज्नु परेपछि आजित बनेर यहाँ आएको हुँ,’ प्रसाईले भने, ‘कार्यालय समयमा कहिल्यै नआउने र आएपनि पूरा समय नबसेपछि सेवाग्राहीलाई धर्ना बस्ने अवस्था आउन नदिन मैले विरोध गरेको हुँ ।’ जनताको सेवा गर्न आफू सँधै अग्रसर भएर काम गरेपनि कर्मचारीका कारण कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे ।
सेवाग्राही कार्यालयमा आउँदा वडा सचिवलाई अधिकांश समय नभेट्दा सेवाग्राहीले दुःख पाउनुका साथै आफुमाथि प्रश्न गर्ने गरेको वडाध्यक्ष प्रसाईले बताए । वडासचिवको कार्यशैलीप्रति पटक पटक प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई जानकारी गराएपनि खासै वास्ता नगरेको प्रसाईले गुनासो गरे । ‘वडासचिवको बारेमा पटक पटक अधिकृत ज्युलाई जानकारी गराएँ तर उहाँले हुन्छ हुन्छ बाहेक केहि भन्नु भएन,’ उनले भने ।
प्रसाईले वडासचिव तत्काल अर्को पठाउनु पर्ने र उनले कामै नगरी लिएको तलब राज्यकोषमा फिर्ता गर्नु पर्ने माग रहेको बताउँछन् । माग पूरा नभएसम्म आफूले नगरपालिकाबाटै सेवा दिने जानकारी उनले दिए । वडासचिव पोखरेलको एक बर्षको हाजिरी रेकर्ड बोकेर नगरपालिकाको आँगनमा वडाध्यक्ष प्रसाई प्रश्न गरिरहेका छन्– ‘के कामै नगरी तलब खान पाइन्छ ?’ प्रसाईको विरोधप्रति वडा नम्बर ७ का अध्यक्ष अविरल कृष्ण खरेलले समेत ऐक्यबद्धता जनाएका छन् ।

हाजिरी रेकर्ड
कार्यालयमा इ–हाजिरी छ, उक्त हाजिरीको रेकर्ड हेर्दा कुनै दिन १० बजे कार्यालय नगएको र कतिपय दिन पोखरेल २ घण्टामात्र कार्यालयमा बसेको देखिन्छ । कार्यालय समयमा पटक पटक वडासचिवलाई नभेटेपछि सेवाग्राही रुष्ट बन्दै आएका छन् ।
यता वडासचिव पोखरेल वडाध्यक्षले कर्मचारीको सेवासुविधा सम्बन्धि नियम नबुझेको बताउँछन् । ‘मैले सरकारले तोकेको परिधीमा रहेर विदा लिन नपाउने भन्ने हुँदैन,’ उनले भने,‘मैले पाउने कतिपय विदा ल्याप्स हुँदा पनि म स्वास्थ्यले साथ दिएसम्म कार्यालय गएको छु ।’ आफु विदामा बस्ने जानकारी गराएर विदा बस्दापनि कति पटक वडाध्यक्षको गाली खानु परेको पोखरेलको आरोप छ । वडा कार्यालयको बिचैमा नगरपालिका रहेको र पालिकाको काम सकेर वडा पुग्दा कहिलेकाँहि ढिला हुने गरेको वडासचिव पोखरेलले स्वीकार गरे । ‘बाटैमा नगरपालिका छ, वडा पुगेर आउनुभन्दा यतै काम सकेर जाँदा कहिलेकाँहि ढिला हुन्छ,’ उनले भने,‘कतिपय समयमा नगरपालिकामा वडासचिवको बैठक हुनेहुँदा फिंगर गरेर आउँदा हाजिरीमा छिटै हिँडेको देखिँदो रहेछ ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीले यस बिषयमा आफूले भर्खरै मात्र जानकारी पाएको बताए । हाललाई वडासचिव अर्को व्यवस्था गरिने र वडासचिव पोखरेलको हाजिरी लगायतको विवरण छानबिन गर्ने र नियमविपरित भएको पाइए कारबाही गरिने भण्डारीले बताए ।