कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु पर्दैन : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ
बिर्तामोड । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका छन् ।
उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन् ।
ललिता निवास प्रकरणको अनुसन्धान तीव्र बनिरहेका बेला उनले त्यस्तो आग्रह गरेका हुन् ।
‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं ।’
पछिल्लो पटक सरकारले ठूला भ्रष्टाचार काण्डका फायलहरु धमाधम खोलिरहेको छ । नक्कली शरणार्थी प्रकरणमा भीआइपीहरु पक्राउ गरे पश्चात सरकारले बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका भीआइपीहरुलाई कारबाही शुरु गरेको छ । सरकारले भ्रष्टाचारमा संलग्नलाई कारबाही शुरु गरेसँगै चौतर्फी प्रशंसा भइरहेको छ ।