कर्मचारीको चरम लापरबाही, नेपाली नागरिकलाई भारतीय लेखिदिँदा सेवाग्राहीलाई सास्ती
बिर्तामोड । कर्मचारीले गरेको चरम लापरबाहीका कारण बिर्तामोडका एक सेवाग्राहीले सास्ती भोग्नु परेको छ । छोराको जन्म दर्ता गर्दा बाबुको नागरिकता प्रमाण पत्र नम्बरमा भारतीय लेखिदिँदा नागरिकता बनाउने क्रममा सास्ती भोग्नु परेको छ ।
साबिक अनारमनी ४ को वडा कार्यालयमा जन्मदर्ता गराएका प्रविण राजवंशीको छोरा मानिक राजवंशीको जन्म दर्ता प्रमाण पत्रमा बाबुको ना.प्र.नं. लेखिएको ठाउँमा कर्मचारीले भारतीया देखिदिएका छन् । तर, प्रविण राजवंशी भने नेपाली नागरिक हुन् ।
जन्मका आधारमा नेपाली नागरिकता लिएका प्रविण राजवंशीले छोराहरुको नागरिकता बनाउँन जाँदा सास्ती भोग्नु परेको छ । ‘बल्लबल्ल छोराहरुको नागरिकता बन्ने भएपछि पानीझरीमा गसबै कागजात लिएर गइयो,’ उनले भने,‘जन्मदर्ता बिगारिदिएका कारण फर्किएर आउनु पर्यो ।’ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ नागरिकता विधेयक प्रमाणित गरेपछि यति बेला जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता बनाउनेको घुँइचो छ । जिल्ला प्रशासन कार्यालय झापाले साउनभरका लागि टोकन बाँडिसकेको छ ।
लामो समय लाइन बसेर कागजात नमिलेको भन्दै फर्कनु पर्दा राजवंशी आक्रोशित बनेका छन् । उनले २०६० साल वैशाख १६ गते छोराको जन्मदर्ता गराएका थिए । जन्मदर्तामा तत्कालिन स्थानीय पञ्जिकाधिकारी छत्रबाबु ओझाले हस्ताक्षर गरेका छन् । राजवंशी आक्रोशित हुँदै भने– ‘कर्मचारीले मिस्टेक गरेपनि सहि गर्नेले हेर्नु पर्दैन ? कि नहेरी जे पायो त्यहिमा सहि गरिन्छ ?’