भ्रष्टाचारविरुद्ध अनुसन्धानले थप निरन्तरता पाउँछ– प्रधानमन्त्री प्रचण्ड
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै यसका अनुसन्धान थप बढाउने उनले बताए । ‘भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ । यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।’
उनले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किएको बताए । ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उनले भने, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन् ।’
यस्तै चीन भ्रमणको पनि तयारी भइरहेको उनले बताएका छन् । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छ ु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने ।
त्यस्तै बजेट पास होलारनहोला भन्ने विषयमा पनि चिन्ता भएको बताए । आफूले यस पटक भिन्न ढंगबाट काम गरिरहेको पनि उनको दाबी छ । जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी काम गरिरहेको बताए ।
‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौं । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगेका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस छ,’ उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं, यसको दूरगामी अर्थ छ ।’