आज देवशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन
बिर्तामोड । आज आषाढ शुल्क पक्षको एकादशी (देवशयनी एकादशी) अर्थात हिन्दु धर्मावलम्बीहरुले तुलसी रोप्ने दिन । वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । आजको दिन व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।
श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।
यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् । आयुर्वेदमा पनि तुलसीलाई औषधीको रुपमा लिइएको छ ।
तीर्थ समान तुलसीको मठ
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।