लागू औषधसम्बन्धि कसुरमा ३०३ जना पक्राउ
बिर्तामोड । झापामा लागू औषधसम्बन्धि कसुरमा ३०३ जना पक्राउ परेका छन् । चालु आवमा ३१ जना महिला र २७२ जना पुरुष पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार २८८ जना नेपाली र १५ जना भारतीय नागरिक लागू औषधसम्बन्धि कसुरमा पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ किलो ४९२ ग्राम २५३ मिलिग्राम ब्राउन सुगर, लुपिजेसिक ११५ एम्पुल, डाइजापाम १३० एम्पुल, फेनारगन १२५ एम्पुल, नाइट्रोजन १५ ट्याब्लेट, नाइट्राजेपाम ३४३ ट्याब्लेट, एभिल ६ एम्पुल, नाइट्राभेट २९८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । त्यस्तै गाँजा २७ किलो २५० ग्राम बरामद भएको उनले बताए । पक्राउ परेकाहरु विरुद्ध १८४ वटा मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।
प्रत्येक जुन २६ तारिख लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आजपनि झापाका प्रमुख शहरहरुमा उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । तर, लागू औषध प्रयोग र ओसारपसार भने बढ्दो क्रममा छ । लागू औषध कारोबारमा संलग्नहरुले शरिरको गोप्य अंगमा लुकाएरसमेत ओसारपसार गर्ने गरेको पाइएको छ । खुला र नजिकै सीमा नाका भएका कारण ठूलो मात्रामा झापामा लागू औषध ओसार पसार र प्रयोग हुने गरेको छ ।