२०८३ बैशाख १९ गते , शनिबार

कर्मचारी र जनप्रतिनिधीको बेवास्ताले लाखौँ राजश्व गुमाउँदै बिर्तामोड नगरपालिका

sajilo news
परिवेश मिडिया
२०८० असार ११ गते , सोमबार
कर्मचारी र जनप्रतिनिधीको बेवास्ताले लाखौँ राजश्व गुमाउँदै बिर्तामोड नगरपालिका

बिर्तामोड । बिर्तामोड नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीको उदासिनताका कारण स्थानीय तहले लाखौँ राजश्व रकम गुमाइरहेको छ । बिर्तामोडको सरहदभित्र सञ्चालित ठूला व्यवसायीलाई करको दायरामा ल्याउन नसक्दा नगरपालिकाले बर्षेनी लाखौँ राजश्व गुमाइरहेको हो ।

बिर्तामोड नगरपालिकाको वडा नम्बर १,४ र ५ भित्र एक सय हाराहारीमा वैदेशिक रोजगार व्यवसाय र तीन दर्जनको संख्यामा शैक्षिक परामर्श केन्द्रका शाखा कार्यालय सञ्चालित छन् । ती अधिकांश कार्यालय बिर्तामोड नगरपालिकामा दर्ता बिना सञ्चालित छन् । नगरपालिकाले ती कार्यालयहरुको अनुगमनमा उदासिनता देखाउँदा लाखौँ राजश्व रकम बर्षेनी गुमाइरहेको छ । नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीलाई ती व्यवसायबारे जानकारी नभएको भने होइन । नगरप्रमुख पवित्रा महतारा प्रसाईकै घरको १ सय मिटर दुरीभित्र त्यस्ता कार्यालय करिब १ दर्जनको संख्यामा सञ्चालित छन् भने बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी स्वयमले शैक्षिक परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर उनीहरु ती व्यवसायीलाई करको दायरामा ल्याउन तत्पर देखिँदैनन् । स्थानीय सञ्चारमाध्यममा पटक पटक समाचार सम्प्रेषण भइरहेपनि उनीहरु देखेको नदेखे झैँ गरिरहेका छन् । सानो पुँजीले व्यवसाय गर्ने साना पसलेलाई व्यवसाय दर्ता गर्न दबाब दिने नगरपालिकाले ठूला व्यवसायीतिर भने नजर लगाउन सकेको देखिँदैन ।

वैदेशिक रोजगार व्यवसायी र शैक्षिक परामर्श केन्द्रले बार्षिक लाखौँ रुपैँयाको कारोबार गरेपनि स्थानीय तहमा दर्ता गर्न अनिच्छा देखाइरहेका छन् । एउटा वैदेशिक रोजगार व्यवसायीको शाखा कार्यालयका लागि बिर्तामोड नगरपालिकाले १० हजार रुपैँया बार्षिक व्यवसाय कर तोकेको छ । यो तथ्याङ्कलाई हेर्ने हो भने उनीहरुबाट बार्षिक १० लाख रुपैँया व्यवसाय करमात्र संकलन हुन्छ भने त्यसैको हाराहारीमा घरबहाल करसमेत संकलन हुन्छ ।

त्यस्तै शैक्षिक परामर्श केन्द्रलाई न्यूनतम तीनहजार रुपैँया व्यवसाय कर तोकिएको छ । तर शाखा कार्यालयको रुपमा सञ्चालित परामर्श केन्द्र कानुनी अड्चन देखाउँदै बिना दर्ता सञ्चालित छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने स्थानीय तहको क्षेत्र भित्र सञ्चालित सबैखाले व्यवसायीले नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नपाइने बताउँछन् । यदि त्यस्ता कुनै व्यवसाय दर्ता बिना सञ्चालनमा रहेका पाइए बन्द गराइने उनको भनाई छ ।

   

सम्बन्धित समाचार