कनकाईका कर्मचारी बिना जानकारी पाँच दिनदेखि अनुपस्थित, राजश्व रकम हिनामिना गरेको आशंका
बिर्तामोड । झापाको कनकाई नगरपालिकाका एक जना कर्मचारी बिना जानकारी पाँच दिनदेखि कार्यालयमा अनुपस्थित भएका छन् । कनकाई नगरपालिका वडा नम्बर ३ का कर्मचारी हरि अधिकारी कार्यालयमा जानकारी नगराई जेठ ४ गते दिउँसोदेखि अनुपस्थित भएका हुन् ।
कनकाई नगरपालिका वडा नम्बर १ निवासी अधिकारी करार कर्मचारीको रुपमा वडा नम्बर ३ को कार्यालयमा कार्यरत रहेका थिए । कार्यालयको राजश्व फाँटमा कार्यरत अधिकारी सो दिन आफुले बैंकमा जम्मा गरेको राजश्व रकमको भौचर लिन भनेर नेपाल राष्ट्र बैंक सुरुङ्गा शाखामा गएको र फर्किएर हालसम्म नआएको चौलागाईले जानकारी दिए ।
वडा सचिव अनुपराज रेग्मीले बैंकमा जम्मा गरेको रकमको भौचर लिन अधिकारीलाई पठाएका थिए । एक डेढ घण्टासम्मपनि अधिकारी कार्यालयमा नआएपछि रेग्मीले फोन गर्दा अधिकारीले बैंकले भौचर नदिएको र आफु बजारको तल्लो भागमा आइपुगेको बताएका थिए । त्यसपछि रेग्मीले तपाई आउनु भरे कार्यालयको काम सकेर दुवै जना जाउँला भनेका थिए । तर त्यसको एक घण्टासम्मपनि अधिकारी नआएपछि फेरी रेग्मीले फोन गर्दा फोन स्वीच अफ रहेको वडाध्यक्ष चौलागाईले बताए ।
राजश्व रकम हिनामिना गरेका आशंका
राजश्व फाँटमा कार्यरत अधिकारीले राजश्व रकम हिनामिना गरेको आशंका छ । कार्यालयको बैंक खातामा जम्मा हुनुपर्ने करिब चार–पाँच लाख रुपैँया अधिकारीले जम्मा नगरेको वडाध्यक्ष चौलागाईले बताए । वडा सचिव रेग्मीले अधिकारीलाई पटक पटक बैंकमा जम्मा गरेको भौचर ल्याउन आग्रह गरेका थिए तर अधिकारीले पैसा जम्मा गरिसकेको र भौचरमात्र ल्याउन बाँकि रहेको बताउँदै आएका थिए । सो दिनपनि बैंकमा भिडभाड रहेको र भौचर नदिएको अधिकारीले बताएका थिए ।
अधिकारी सम्पर्क बाहिर रहेको बिषयमा नगरपालिकामा जानकारी गराईसकिएको वडाध्यक्ष चौलागाईले बताए । यता अधिकारी भने परिवारको सम्पर्कमा रहेको बुझिएको छ ।