सातै प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह
बिर्तामोड । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ । बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन ।
अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् शान्ती कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ । पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ । यो क्रम अब देशैभरी चल्ने उनले बताइन् ।
‘मनसुन विस्तारै पश्चिमतिर प्रोग्रेस गर्ने क्रममा छ । जसले गर्दा हिँजोअस्तीदेखि नै तापक्रम घटिसकेको अवस्था छ । वर्षाका गतिविधि बढिराखेका छन्,’ उनले भनिन्,‘अस्तिअस्ति पूर्वतिर मात्रै पानी पर्ने र पश्चिम तराई पूरै सुख्खा थियो अब त्यो अवस्था छैन ।’
मौसमविद् कँडलेका अनुसार आगामी चौबिस घण्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ ।
दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षा र मेघगर्जन र चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।