‘जीवन बचाई दिने मानिस’को पर्खाइमा आइतराज
दमक । लामो समयदेखि बिरामी भएका कारण ओछ्यान परेका आइतराज विश्वकर्मा जीवन बचाई दिने मनकारीको पखाईमा छन् । झापाको दमक नगरपालिका वडा नम्बर ९ पाथिभरा टोलमा बस्दै आएका ५७ बर्षीय बिश्वकर्माले आफ्नो जीवन बचाई दिने मानिसको पखाईमा पीडादायी दैनिकी गुजारिरहेका हुन् ।
मजदुरी गरेर आफ्नो गुजारा गर्दै आएका बिश्वकर्मा खर्चको अभाव कै कारण लामो समयदेखि ओछ्यानमै थलिन बाध्य छन् । सुकुम्बासी बस्तीमा बस्दै आएका विश्वकर्माले उपचारका लागि मनकारी व्यक्ति तथा संस्थासँग सहयोगको आचना गरेका छन् ।
दमकमा ३० बर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका बिश्वकर्मा आफू सक्ने हुँदा रिक्सा तथा ठेला चलाउँथे । तर रोगले च्यापेसँगै आफुले काम गर्न सक्न छाडेदेखि खर्चकै अभावमा जीवनको दोसाँधमा उनी छट्पटाइरहेका छन् । ओछ्यानमै थलिएका उनले सहयोगीहरुले सहयोग गरे बाँच्ने आशा रहेको बताए ।
श्रीमती दिलमाया सडकमा मकै पोलेर खर्च जोहो गर्थिन् तर श्रीमानलाई गठिया बाथले भेटेर ओछ्यानमा थलिए पछि काम छाडेर विरामीको स्याहारमा लागेकी छन् । उनीहरुसँग न आफु बसेको जग्गाको धनीपूर्जा छ न गरिखाने ठाउँ नै । वडामा गएर सहयोग माग्दासमेत एक बोरा चामलमात्र पाएको दिलमायाले बताइन् ।
‘भएका छोरीहरुले विवाह गरेर गइसकेका छन्,’ उनी भावुक हुँदै भन्छिन्,‘बेला बेला आएर यसो खानपिनको जोहो सम्म गर्दिने गरेका छन् । तर खर्च नहुँदा उपचार गर्न नसकेकाले श्रीमानले मृत्यु पर्खनु बाहेक विकल्प छैन ।’