कोशीको इटहरीसहित देशको ११ स्थानमा मानवीय सहायता स्थल स्थापना
काठमाण्डौ । सरकारले विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपतकालीन भण्डारण स्थापना गरेको छ ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन् । उनका अनुसार विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको छ ।
‘यो प्रतिकार्य योजनासँगै हामीले स्ट्यान्डबाई मेकानिजम बनाएका छौँ । गृह मन्त्रालयमा सहसचिवकै नेतृत्वमा मनसुन अवधिको लागि कमान पोस्ट गठन गरिएको छ । सुरक्षा निकायलाई सबैतिर परिचालन गर्नका लागि समन्वयात्मक अवस्थामा तयारी रहन जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छौँ,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषदमा पठाइसकेको जानकारी गराए ।
हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक गरी तीनवटा हेलिकोप्टर एवं एमवाइवान–७, स्काइ ट्रक एक, सानो हेलिकोप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको बताए । उनका अनुसार एउटा एमआई–१७ र एक स्काइ ट्रक किनेर भरतपुर पठाउने तयारी भइरहेको बताए ।