भैँसी चरन बन्दै नेपाल–चीन मैत्री औद्योगिक पार्क
दमक । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । निर्माणमा ढिलाई हुँदा उक्त क्षेत्र अहिले भैंसी चरनको रुपमा परिणत भएको छ ।
प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्क केपी ओली प्रधानमन्त्री हुँदा ०७७ साल फागुन १६ गते शिलान्यास गरेका थिए । त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने बताइएको थियो ।
प्रक्रिया पूरा नगरी हतारमा आयोजना शिलान्यास गरिँदा दुई बर्ष बितिसक्दा समेत काम शुरु हुन सकेको छैन । जस लिनलाई ओलीले तत्कालीन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए ।
२१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने जनाइएको छ । जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ । शुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो । यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने बताइएको छ ।
ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा औद्योगिक पार्क निर्माण हुनेछ ।
ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ । शिलान्यास स्तम्भ वरिपरि गरिएको घेराबारा भित्र अहिले भैंसी चरनको क्षेत्र भएको छ ।
त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भ मात्र छ ।
शिलान्यास बोर्डमा पनि त्रुटि
ओलीले शिलान्यास गरेको उक्त शिलान्यास बोर्डमा त्रुटी रहेको पाइएको छ । उक्त बोर्डमा गौरादह गा.पा. लेखिएको पाइएको छ । तत्कालीन गौरादह , कोहबरा , महारानीझोडा, बैगुन्धुरा जुरोपानी गाबिस मिलाएर २०७२ सालमा नै गौरादह नगरपालिका घोषणा भएतापनि उक्त बोर्डमा गौरादह गापा लेखिएको पाइएको हो ।