केल्मीको लोगो दुरुपयोग गर्ने गार्मेन्टमा प्रहरीको छापा
बिर्तामोड । नेपालमा स्पोर्टस वेयर तथा विभिन्न खेल सामग्रीका लागि चर्चित ब्रान्ड केल्मीको लोगो दुरुपयोग गरी नक्कली पोशाक उत्पादन गर्ने गार्मेन्ट तथा त्यस्ता सामग्री बिक्री गर्ने पसलमा प्रहरीले छापा हानेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले भोटेबहालस्थित एसकेसी गार्मेन्ट र महाबौद्धको सुजन सिर्जन शिभम् रेडिमेट स्टोरमा छापा हानेको हो ।
त्यसक्रममा केल्मीको लोगो दुरुपयोग गरी बनाइएका ७०८ थान जर्सी, ट्राउजर, टी–शर्ट लगायत पोशाक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसरी सामान बनाएर बेचबिखन गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
उनका असार पक्राउ पर्नेमा पर्वतको ठूलोपोखरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बाराको पचरौता नगरपालिका–१ घर भई काठमाडौंको चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी छन् ।
आइतवार नै पोखराको ज्याकेट हाउसमा पनि छापा हानिएको छ । त्यसक्रममा केल्मीको ब्रान्ड दुरुपयोग गरी बनाइएका करीब ५ सय पीस पोशाकहरू बरामद गर्नुका साथै एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।
स्पेनिस ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता कामरु ट्रेडिङ हो ।
क्रिकेट, फूटबलसहित नेपालमा अधिकांश खेलकुदको अफिसियल पोशाकका रूपमा रहेको केल्मी पछिल्ला केही वर्षयता नेपालमा निकै लोकप्रिय छ ।