२०८३ बैशाख १९ गते , शनिबार

प्रदेश सरकारद्वारा दुध उत्पादक किसानलाई ४७ लाखबढी अनुदान वितरण

sajilo news
परिवेश मिडिया
२०८० असार ४ गते , सोमबार
प्रदेश सरकारद्वारा दुध उत्पादक किसानलाई ४७ लाखबढी अनुदान वितरण

मेचीनगर । कोशी प्रदेश सरकारले किसानलाई उत्पादनका आधारमा उपलब्ध गराउने अनुदान रकम वितरण गरेको छ । आज झापाको धाइजनमा आयोजित एक कार्यक्रमका बिच झापा र इलामका ३६ सय बढी किसानलाई अनुदान रकम वितरण गरिएको हो ।

झापाको रितिका डेरीमा दुध बिक्री गर्दै आएका इलाम तथा झापाका किसानलाई प्रदेश सरकारले ४७ लाख १८ हजार रुपैँया अनुदान वितरण गरेको छ । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको समन्वयमा उक्त अनुदान रकम वितरण गरेको हो । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त अनुदान वितरण गरेको हो ।

रितिका डेरी उद्योग मेचीनगर१२ मा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले पहिलो पटक प्रतिलिटर दुई रुपैयाँ पर्ने गरी दिएको अनुदानबाट झापा र इलामका ३६ सय बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन गर्ने उद्देश्य स्वरुप प्रदेश सरकारले पहिलोपटक यस कार्यक्रम ल्याएको हो ।

रितिका डेरीले झापा र इलामबाट दैनिक ३० हजार लिटर दुध संकलन गर्छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादक समुहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो ।

अब यी सम्पूर्ण संस्थाहरुले आफुलाई दुध उपलब्ध गराउने किसान समक्ष यो रकम पुर्याउनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर प्रमुख बुढाथोकीले किसानले उत्पादन गर्ने दुधको आधारमा अनुदान दिइँदा सम्पूर्ण किसान लाभान्वित हुने बताए ।

यो आम किसानका लागि अत्यन्तै महत्वपूर्ण योजना हो, पहुँच नभएका तर हरेक समय आफ्नै माटोमा परिश्रम गर्ने किसान चौतर्फी मारमा परिरहेका बेला यस्तो कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा पनि हो । अब प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,’ उनले भने ।

किसानको क्षेत्रमा स्थानीय तहले पनि कस्ता कार्यक्रम ल्याउने भन्ने बारे छलफल भइरहेको मेयर बुढाथोकीले बताए । कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारी, मेचीनगर११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा रितिका डेरीका सञ्चालक घनश्याम चिमरियालाई दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारतको पश्चिम बंगाल निवासी हरेसप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेरीका सञ्चालक राजन चिमरियाले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक योगेन्द्र चिमरियाले सञ्चालनमा गरेका थिए ।

सम्बन्धित समाचार