पाँचथर र ताप्लेजुङमा बर्षाको वितण्डा, एक दर्जन मानिस बेपत्ता
मेहेले स्वास्थ्य चौकी र हेवा खोलाको पुलसमेत बगायो
बिर्तामोड । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएको स्थानीयबासीले बताएका छन् ।
यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।
घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ ।
त्यस्तै निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।
हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत छन् ।
त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माझीटारमा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।