२०८३ बैशाख १९ गते , शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आफ्नै बयानले रिजाललाई जेल पुर्यायो

sajilo news
परिवेश मिडिया
२०८० असार २ गते , शनिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : आफ्नै बयानले रिजाललाई जेल पुर्यायो

बिर्तामोड । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जेठ ४ गते पक्राउ परेका नेता रिजालसहित १८ जना विरुद्ध परेको मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

रिजाललाई थुनामा राख्न न्यायाधीशले चारवटा आधारलाई तत्काल प्राप्त प्रमाण मानेका छन् । झापास्थित आफ्नो घरमा रङ लगाउने ठेक्का लिएका रामशरण केसीसँग रिजालले अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने काम हुन्छभनेको तथ्यलाई न्यायाधीशले उनी विरुद्धको प्रमाणको रूपमा ब्याख्या गरेका छन् ।

रामशरण केसीको बयान समेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रमाण मानेर थुनामा पठाउने आदेश गरेका हुन् ।

रामशरणले बयानमा भनेका छन्– ‘टेकनाथ रिजालले ३४ जना नेपालीहरूलाई भुटानी शरणार्थीको परिचयपत्र भुटान मानवअधिकार सङ्गठनको सदस्यता पत्रमा हस्ताक्षर गरेका हुन् ।

शरणार्थी नेता रिजालका लागी आफ्नै बयान घातकभएको छ । रामशरण केसीको बयानलाई रिजालले स्वीकार गरेको न्यायाधीशले आदेशमा उल्लेख गरेका छन् । आदेशमा भनिएको छ– ‘केही परिचयपत्रमा सही गरेको तथ्य निजले नै स्वीकार गरेको देखिएको ।

अनुसन्धान अधिकृत र सरकारी वकिलसँग गरेको बयानमा केसीले रिजाललाई ११ लाख नगद दिएको बयान दिएका थिए । रामशरणले गरेको सो बयान सानु भण्डारीबाट बरामद डायरीमा पनि उल्लेखित ब्यहोराले पुष्टि गरेको अदालतको ठहर छ । न्यायाधीश न्यौपानेले आदेशमा भनेका छन्– ‘रामशरण केसीको बयानलाई सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेखित ब्यहोराले पुष्टि गरेको देखिँदा निजको कसुरमा संलग्नता रहेको देखियो ।

रिजाल झापामा बसेर लामो समयदेखि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको माग गर्दै आएका थिए । उनलाई नेपाल सरकारले उच्च नेताको दर्जामा राखेर मासिक एक लाख रुपैँया र सवारी साधन उपलब्ध गराउँदै आएको थियो ।  

सम्बन्धित समाचार