२०८३ बैशाख १९ गते , शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा राख्ने आदेश

लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाडिने

sajilo news
परिवेश मिडिया
२०८० असार १ गते , शुक्रबार
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा राख्ने आदेश

काठमाण्डौ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।  लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने  आदेश भएको अदालतले जनाएको छ ।

यस्तै  टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो ।  कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा अझै फरार छन् ।

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आएको हो । अदालतमा सरकारी वकिल तथा पीडित तर्फका कानुन व्यवसायीले कुल ३ दिन र प्रतिवादी तर्फका कानुन व्यवसायीले ८ दिन बहस गरेका थिए ।  

सम्बन्धित समाचार