सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल पार्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।
पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका दिवंगत नेता धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए ।
उनले भने, ‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रस्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो ।’
भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उनले कहीँ सम्झौता नहुने र नझुक्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरू क्रियाशील रहेको जनाउँदै उनले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरू समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताए ।
डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीलाई पौडेलले निरन्तर पूरा गर्दै आएको स्मरण गरे ।
पछिल्लो समय आन्दोलनका उपलब्धिमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका बताए ।
‘कम्युनिस्ट मात्रै इमान्दार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नु छ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरहालतमा सरकारलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । समृद्धिको यात्रालाई तीव्र पार्नुपर्नेमा जोड दिँदै उनले जनआकांक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनुपर्ने दाबी गरे ।