विराटपोखरी (सरोवर बहुउद्देश्यीय) विकास समितिमा किचलो
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर–३ मा रहेको विराटपोखरी (सरोवर बहुउद्देश्यीय) विकास समितिमा कार्य समितिको बिषयलाई लिएर किचलो भएको छ । संस्थाको पुरानो कार्य समिति विघटन भइसकेपनि नयाँ कार्य समिति गठन गर्ने बिषयमा किचलो भएको हो ।
गत माघ ७ गते प्रदेश सांसद एकराज कार्कीसमेतको उपस्थितीमा भएको संस्थाको छैठौ अधिवेशनबाट पुरानो कार्य समितिको पदावधी समाप्त भएकाले विघटन भएको र नयाँ समिति चयन गर्नका लागि ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा निर्वाचन समितिसमेत गठन भएको थियो ।
समितिका अन्य सदस्यहरु कृष्ण विमली, पर्शुराम कडरिया, टिकेन्द्र थापा र ठाकुर उप्रेती रहेका थिए । संस्थाको तत्कालिन अध्यक्ष इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको उक्त अधिवेशनबाट नयाँ समिति चयनका लागि माघ १४ गतेको मिति तय भएको थियो । निर्वाचनका लागि १२ जनाले उम्मेदवारीसमेत दर्ता गराएका थिए । अध्यक्ष पदका लागि इन्द्रप्रसाद प्रसाई, आकाश उप्रेती र इन्द्रनारायण प्रसाई, उपाध्यक्ष पदका लागि मनप्रसाद उप्रेती र मिना पाठक, सचिव पदका लागि दिपेश प्रसाई, पुनम प्रसाई र जगन्नाथ भट्टराई, कोषाध्यक्ष पदका लागि हेमचन्द्र अधिकारी र दिनेश मैनाली र सहसचिव पदका लागि नैननकला थापा र अर्जुन उप्रेतीले उम्मेदवारी दर्ता गराएका थिए ।
तर, संस्थाको विधान विपरितका व्यक्तिहरुले उम्मेदवारी दर्ता गरेकाले उनीहरुको उम्मेदवारी खारेजी गरिपाउँ भन्दै उम्मेदवारका प्रत्यासीसमेत रहेका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद प्रसाईले माघ १० गते निर्वाचन समिति संयोजकलाई निवेदन दिएका थिए । पुनः अध्यक्ष इन्द्रप्रसाद प्रसाई, सचिव पुनम प्रसाई र कोषाध्यक्ष हेमप्रसाद अधिकारीले माघ १२ गते उम्मेदवारी खारेजी सम्बन्धमा भन्दै अर्को निवेदन निर्वाचन समितिलाई दिएका थिए । निर्वाचन समितिमा उजुरी परेसँगै निर्वाचन समितिले राजिनामा दिएकाले अर्को सूचना नभइञ्जेलसम्मका लागि निर्वाचन स्थगित भएको भन्दै निवर्तमान अध्यक्ष प्रसाईले हस्ताक्षर गरी सूचना टाँस गरेका थिए ।
निर्वाचन सरेको आधिकारिक जानकारी नगराएको र निर्वाचन समितिले पूर्वाग्रही ढंगले निर्वाचन स्थगित गरेको भन्दै माघ १४ गते भेला भएका ९४ जना सदस्यहरुले आकाश उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेका थिए । सो समितिले नयाँ समिति गठन भएको जानकारी बिर्तामोड नगरपालिकालाई फागुन ३० गते दर्ता नम्बर ६८४५ को पत्रबाट जानकारी गराएको नयाँ कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘मौजुदा समितिले यस नयाँ कार्य समितिलाई आवश्यक कागजात सहितको खाता हालसम्म उपलब्ध नगराएकाले ऐतिहासिक धरोहर साथै धार्मिक पर्यटकीय स्थलको विकास निर्माण कार्यमा बाधा उत्पन्न हुने देखिएकाले सो समस्याबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार समेत सम्बन्धित पक्षले लिनुपर्नेछ, अन्यथा हामी जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।