कनकाईको सवारी मर्मतमा ३९ लाख खर्च, ऐन विपरित ४० लाखको मसलन्द खरिद
बिर्तामोड । कनकाई नगरपालिकाले सवारी साधन मर्मतमा अस्वभाविक खर्च गरेको पाइएको छ । गत आर्थिक बर्षमा पालिकाले सवारी साधन मर्मतमा ३९ लाख ९९ हजार ८६८ रुपैँया खर्च गरेको हो ।
कनकाई नगरपालिकाले मेशिनरी, सवारी साधन मर्मत र निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार शिर्षकमा १२ लाख रुपैँया खर्च गरेको छ । त्यस्तै सवारी साधन मर्मत थप÷सम्पूर्ण शिर्षकमा २७ लाख ९९ हजार ८६८ रुपैँया खर्च गरेको छ । अधिकांश खर्च गाडी र मोटरसाइकल मर्मतमा गरेको र सवारी साधनको संख्याको आधारमा उक्त खर्च अधिक भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कनकाईमा एउटा व्याकहो लोडर, १८ वटा मोटरसाइकल र दुई वटा स्कुटर रहेका छन् ।
कनकाईले १४ लाख ९० हजार २९८ रुपैँया खाजामा खर्च गरेको छ । तर, कुन कार्यक्रम र कति सहभागीलाई सो खर्च गरेको भन्ने खुलाइएको छैन ।
पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) विपरित ५ जना कर्मचारी भर्ना गरी २१ लाख २४ हजार २ सय रुपैँया खर्च गरेको छ । ऐनमा नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, इलेक्ट्रिसियन, प्लम्बर, चौकीदार, माली, बगैँचे र सरसफाई सम्बन्धि कर्मचारी करारमा नियुक्त गर्न पाइने व्यवस्था भएपनि कनकाईले सो बाहेकको पदमा ती ५ जना कर्मचारी भर्ना गरेको हो ।
नगरपालिकाले मापदण्ड नै नबनाई कर्मचारीले १८ लाख र पदाधिकारीले ६ लाख गरी २४ लाख रुपैँया इन्धनमा खर्च गरेको छ । कुन सवारी र कुन कार्यालय प्रयोजनमा के कति खर्च भएको भन्ने स्पष्ट छैन ।
भ्रमण खर्च नियमावली २०६४ विपरित पालिकाले २३ लाख ५० हजार खर्च गरेको छ । नियमावली अनुसार भ्रमणको उद्धेश्य र भ्रमणबाट फर्किएपछि उद्धेश्य अनुरुप कार्यसम्पादन प्रतिवेदन पेश गरेको हुनुपर्ने भएपनि अधिकांश खर्च कार्यालयको कामकाजमा भएको देखिएको छ ।
कनकाईमा सञ्चालिन संस्थागत विद्यालयहरुबाट बार्षिक ९६ हजारका दरले व्यवसाय कर संकलन हुने देखिएपनि नगरपालिकाले विद्यालयलाई करको दायरामा ल्याउन सकेको देखिँदैन ।
नगरपालिकाले सार्वजनिक खरिद नियमावली विपरित २४ लाखको औषधी खरिद गरेको छ ।
नगरपालिका र हेफर प्रोजेक्टबिच कार्यक्रम गर्न पालिकाले ७५ र हेफरले २५ प्रतिशत व्यहोर्ने सहमति भएपनि पालिकाले ३१ लाख १३ हजार ९९८ रुपैँया बढी भुक्तानी दिएको छ । सो रकम दामासाहीमा बढी भुक्तानी भएकोले असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यता हेफरले गरेको खर्च पुष्ट्याई हुने कागजात पेश नभएकाले यथार्थ खर्च भएको यकिन हुन नसकेको कार्यालयले जनाएको छ ।
अक्सिजन प्लाण्ट जडान गर्दा एभरेष्ट लाइन ललितपुरलाई सम्झौता विपरित दिएको १६ लाख ५० हजार ३९० रुपैँया २५ पैसा असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
कनकाईले सार्वजनिक खरिद ऐन विपरित ४० लाख रुपैँया खर्च गरेको पाइएको छ । कार्यालयमा आवश्यक सामानको बार्षिक एकमुष्ठ विवरण बनाई प्रतिष्पर्धात्मक तवरले खरिद गर्नुपर्नेमा पालिकाले बजारबाट सोझै पटक पटक कार्यालय सामाग्री खरिद गरेको छ ।
चार बर्ष अघि ०.१७ प्रतिशत रहेको कनकाई नगरपालिकाको बेरुजु बढेर गत आवमा ६.०४ प्रतिशत पुगेको छ । पालिकाको गत आवसम्मको बेरुजु रकम १३ करोड ८ लाख ५३ हजार रुपैँया रहेको छ ।