बाह्रदशीमा बेरुजुको चाङ, पदाधिकारीले हाले ११ लाखको इन्धन
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले विभिन्न शिर्षकमा अस्वभाविक खर्च गरेको पाइएको छ । पालिकाले ऐन र नियमावली विपरित अत्यधिक खर्च गरेको पाइएको हो ।
गत आवमा बाह्रदशीले पदाधिकारीलाई १० लाख ९९ हजार ८५० रुपैँयाको इन्धन उपलब्ध गराएको छ । पालिकाले कुन सवारीमा र के प्रयोजनमा कति खर्च भयो भन्ने विवरण नराखी खर्च गरेको छ । पालिकाले इन्धन सुविधा सम्बन्धि कुनै मापदण्डसमेत बनाएको छैन ।
यता कार्यालय प्रयोजनका लागि भनेर छुट्टै ११ लाख २६ हजार ४९५ रुपैँया इन्धनमा खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
पालिकाले सवारी साधन मर्मतमा समेत ३२ लाख ८६ हजार ९६२ रुपैँया खर्च गरेको छ । पालिकामा एउटा स्कर्पियो, एउटा व्याकहो लोडर, २० वटा मोटरसाइकल र एउटा स्कुटर रहेको छ । पालिकाले अधिकांश मर्मत खर्च गाडी र मोटरसाइकलमा गरेको देखाएको छ । मोटरसाइकल र गाडीको संख्याको आधारमा मर्मत खर्च अध्याधिक भएको महालेखाले जनाएको छ ।
गाउँपालिकाले बिल भर्पाई बिना नै खर्च गरेको १० हजार २८० रुपैँया असुल गर्नु पर्ने देखिएको छ । लोपोन्मुख मेचे समुदायलाई वितरण गर्नुपर्ने भन्दा कम संख्यामा वितरण गरेको बंगुरको ७ हजार सातसय र ५ नम्बर वडा कार्यालयका तत्कालिन वडा सचिव पुण्यप्रसाद आचार्यले खर्च गरेको विविध खर्चको अग्रिम आय कर र कर्मचारी बैठकको पारिश्रमिक आयकर गरी दुई हजार ५८० रुपैँया असुल गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, इलेक्ट्रिसियन, प्लम्बर, चौकिदार, माली, बगैँचे र सरसफाई सम्बन्धि कर्मचारी करारमा लिन सक्नेछ भन्ने व्यवस्था भएपनि ऐन विपरित सो बाहेकको पदमा १४ जना कर्मचारी नियुक्त गरी ४८ लाख ७० हजार ५६० रुपैँया खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाका अनुसार ती कर्मचारीहरुको चालु आवमा समेत करार नवीकरण गरिएकाले उक्त बेरुजु बढ्ने देखिन्छ ।
गाउँपालिकाले ठूलो रकम कर्मचारी प्रोत्साहन भत्तामा खर्च गरेको पाइएको छ । कर्मचारीलाई प्रोत्साहन भत्ताका लागि अर्थ मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने हुन्छ । पालिकाले १६ लाख ९७ हजार ५१५ रुपैँया प्रोत्साहन भत्ता वितरण गरेको छ ।
सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित मसलन्द र कार्यालय सामाग्री खरिदमा बाह्रदशीले ४४ लाख रुपैँया खर्च गरेको छ । कार्यालयलाई आवश्यक पर्ने सामानको एकमुष्ट विवरण बनाई सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम खरिद योजना बनाई प्रतिष्पर्धात्मक तवरले खरिद गर्नु पर्नेमा गाउँपालिकाले पटक पटक सिधै बजारबाट खरिद गरेको हो ।
पालिकाले सोहि नियमावलीको धज्जी उडाउँदै मेसिनरी नेपाल प्रालिबाट ३२ लाख ३८ हजार ५९८ र सुन्दर आधुनिक कृषि संसार प्रालिसँग ८ लाख ९६ हजार ८१२ रुपैँयाको सामाग्री विना प्रतिष्पर्धा सोझै खरिद गरेको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले मासिक रुपमा पाउने अनुगमन भत्ता मासिक प्रतिवेदन बिना नै एकमुष्ठ रुपमा ७ लाख २० हजार रुपैँया बुझिलिएका छन् ।
त्यस्तै पालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई प्रति विद्यार्थी लागतका आधारमा सिकाई सामाग्रीका लागि १५० रुपैँयाका दरले निकासा गर्ने भएपनि १६ वटा विद्यालयलाई प्रत्येक विद्यालयमा एक/एक सय विद्यार्थी बढी देखाई २ लाख ४० हजार रुपैँया भुक्तानी दिएको छ । उक्त रकम विद्यालयबाट असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने महालेखाले जनाएको छ ।
बाह्रदशीले २९ लाख ११ हजार ३८ रुपैँयाको औषधी राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशन नगरी सोझै खरिद गरेको छ । खरिद भएका उक्त औषधीहरु कुन उत्पादकले उत्पादन गरेको र सो को मुल्य के कति हो भन्ने राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशन नभएको महालेखाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक खरिद नियमावली विपरीत १५ लाख ५४ हजार ८४८ रुपैँयाको औषधी खरिद भएको छ । प्रधान मेडिसिन सेन्टरलगायत ५ वटा फर्मबाट उक्त मुल्यको औषधी बिना प्रतिष्पर्धा खरिद भएको हो ।
कानुन र कार्यविधी बिना नै पालिकाले ११ लाख ९७ हजार रुपैँया आर्थिक सहयोग गरेको पाइएको छ ।
बाह्रदशीमा बेरुजुको ग्राफ बार्षिक उल्लेख्य गतिमा बढेको पाइएको छ । चार बर्ष अघि ०.९३ प्रतिशत बेरुजु रहेकोमा त्यो बढेर गत आवमा ७.६३ प्रतिशत पुगेको छ । बाह्रदशीको पुरानो ८ लाख ६७ हजार ७९५ रुपैँया र गत आवको ६ करोड ९० लाख ८२ हजार गरी १५ करोड ५८ लाख ७७ हजार रुपैँया बेरुजु रहेको छ ।