२०८३ बैशाख १९ गते , शनिबार

कचनकवलको बेरुजु १८ करोड बढी, ऐन विपरित कर्मचारी भर्ना गरेर साढे ३८ लाख भुक्तानी

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २४ गते , बुधबार
कचनकवलको बेरुजु १८ करोड बढी, ऐन विपरित कर्मचारी भर्ना गरेर साढे ३८ लाख भुक्तानी

बिर्तामोड । झापा कचनकवल गाउँपालिकाको बेरुजु रकम १८ करोड १९ लाख २० हजार रुपैँया रहेको छ । यो आर्थिक बर्ष २०७८/७९ सम्मको बेरुजु हो । चारबर्ष अघि ०.४७ प्रतिशत रहेको कचनकवलको बेरुजु गत आवमा ४.२७ प्रतिशत पुगेको छ ।

जनप्रतिनिधीले कचनकवल गाउँपालिकालाई आफन्त भर्तीकेन्द्र बनाएको पाइएको छ ।  महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित प्रतिवेदन २०७९ मा कचनकवलमा सो बेतिथी पाइएको हो । गाउँपालिकाले करारमा कर्मचारी राखी ४ करोड ५३ लाख ८४ हजार ३४८ रुपैँया खर्च गरेको जनाएको छ । सो मध्ये ऐन विपरित ११ जना कर्मचारी भर्ना गरेर ३८ लाख ४५ हजार ३४६ रुपैँया तलबबापत भुक्तानी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा भएको व्यवस्था बमोजिम पालिकाले करारमा कर्मचारी नियुक्ति गर्दा नगर प्रहरी, हलुका सवारी चालक, सहयोगी, इलेक्ट्रिसियन, प्लम्बर, बगैँचे, माली, चौकिदार, सरसफाई सम्बन्धि पदमा मात्र नियुक्ति गर्न पाइने भएपनि कचनकवलले सो बाहेकका पदमा कर्मचारी नियुक्त गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

पालिकाका कर्मचारीहरुले अभिलेख विना नै भ्रमण भत्ताबापत ९ लाख ६४ हजार ८४० रुपैँया लिएका छन् । भ्रमण खर्च नियमावली २०६४ अनुसार २० किलोमिटरभन्दा टाढा भ्रमण गर्नुपरे भत्ता पाउने व्यवस्था भएपनि नियमावली विपरित चन्द्रगढी र भद्रपुर आउँदासमेत भत्ता लिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

कचनकवलले कुन कार्यक्रममा लागि भन्ने समेत नखुलाई ८ लाख ८७ हजार ८६५ रुपैँया खाजामा खर्च गरेको छ । त्यस्तै कार्यविधि नै नबनाई आर्थिक सहायताबापत १२ लाख ४१ हजार ८ सय रुपैँया खर्च गरेको पाइएको छ । 

कचनकवलले ठूलो रकम पेश्की दिएर बर्षान्तमा फस्र्यौट नगरेको पाइएको छ । संरचना निर्माण, लघुउद्यम तालिम, वृत्तचित्र निर्माण आदिमा ६५ लाख ९५ हजार ८३० रुपैँया पेश्की फस्र्यौट नगरेको पाइएको हो ।

गाउँपालिकाले गेष्ट हाउस, स्टोर र सभाहलमा ८ लाख ४९ हजार ६१८ रुपैँया खर्च गरेको पाइएको छ । पालिकाको आफ्नै सभाहल नभएको र अतिथीहरु आउँदा बस्नका लागि गेष्ट हाउस आवश्यक भएकाले सो रकम खर्च भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

कचनकवलले मापदण्ड बिना नै बैठक भत्ता बापत ११ लाख ५१ हजार ५ सय रुपैँया खर्च गरेको छ । पालिकाले पदाधिकारी तथा कर्मचारीलाई हरेक क्रियाकलाप, दिवस, कार्यक्रम, खरिद कार्य तथा निर्णय सम्बन्धि बैठकमा समेत भत्ता दिइएको पाइएको छ ।

प्रस्तावका आधारमा सामुदायिक सिकाई केन्द्रलाई दुई लाखसम्म भुक्तानी दिन पाइने भएपनि पालिकाले विना प्रस्ताव युवा सामुदायिक सिकाई केन्द्र र पथरिया युवा सामुदायिक अध्ययन केन्द्रलाई ४ लाख रुपैँया भुक्तानी दिएको छ ।

गाउँपालिकाले नियमावली विपरित एकै व्यक्तिको नाममा लाखौँ रकम भुक्तानी दिएको छ । आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली बमोजिम कार्यालयबाट भएका आर्थिक कारोबार बैंकमार्फत भुक्तानी दिनु पर्ने भएपनि कचनकवलले नियमावली विपरित केशव मैनालीको नाममा २३ लाख २४ हजार २६१ रुपैँया भुक्तानी दिएको छ । मैनालीले १० वटा लघु उद्यम तथा युवा रोजगार प्रबर्धनका लागि सो रकम बुझेका हुन् । सम्बन्धित लाभग्राही व्यक्ति तथा संस्थाको खातामा रकम निकासा नगरेर व्यक्तिमार्फत गर्दा भ्रष्टाचार हुने ठूलो सम्भावना हुन्छ ।

 

  

 

 

सम्बन्धित समाचार