हरित बिर्तामोड नगर बनाउन हरित बर्ष घोषणा गरिने
बिर्तामोड । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गरिने भएको छ । बिर्तामोडले यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने योजना बनाएको हो ।
विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताइन । वातावरण स्वच्छ र हराभरा बनाउनका लागि बिरुवा रोप्न आवश्यक रहेको भन्दै उनले नगरवासी सबैले जतिसक्दो धेरै बिरुवा रोप्न आग्रह गरिन ।
सडकको दायाँ बायाँ, घर, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उनले जोड दिन । वातावरण दिवसको अवसरमा आज सुरुवातमात्रै गरेको बताउँदै उनले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने जानकारी दिइन् ।
दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउदेश्यीय सहकारी संस्थाले बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । नगर प्रमुख प्रसाईले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेकी थिइन ।
वृक्षरोपण कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेलगायत उपस्थित थिए ।