बिर्तामोड खानेपानीको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार संस्थाको सभाहलमा आयोजित कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको हो ।
खानेपानीको जेठ १५ गते सम्पन्न निर्वाचनबाट नयाँ समिति निर्वाचित भएको थियो । नव निर्वाचित समितिका अध्यक्ष मेघराज बास्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारस मैनाली, कोषाध्यक्ष शारदा रिजाल र सदस्यहरु आनन्द गुरुङ, खगेन्द्र कुमार थापा, कमला अग्रवाल, बालादेवि खरेल र मायादेवि प्रधान श्रेष्ठ रहेका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता खगेन्द्र खरेलले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा एमाले जिल्ला कमिटि सदस्य बुद्धि भट्टराई, नेकपा माओवादी केन्द्र बिर्तामोडका नगर अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, जसपाका सोहन सोराली मगर, रास्वपाका शम्भु भण्डारी लगायतले आफ्ना सुझावसहित नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिए ।
निवर्तमान अध्यक्ष जलकुमार गुरुङले बिर्तामोड खानेपानी मुलुककै उत्कृष्ट साना शहरी खानेपानी मध्येको एक रहेको बताए । अथक प्रयासका बाबजुद खानेपानीलाई यो स्थानमा ल्याउन सकिएको भन्दै गुरुङले आफ्ना समितिका सम्पूर्ण सदस्य साथै सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए । उनले खानेपानी महत्वपूर्ण संस्था भएपनि बिर्तामाड नगरपालिकाले कहिल्यै सहयोग नगरेको भन्दै गुनासो व्यक्त गरे । गुरुङले नवनिर्वाचित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
निर्वाचन समितिका सदस्य केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमका अध्यक्ष मेघराज बास्तोलाले निवर्तमान समितिले अघि सारेका कार्यक्रमहरु सुचारु गर्नुका साथै नयाँ कार्यक्रमहरु ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचित गर्न सहयोग गर्ने मतदाता तथा निर्वाचन सफल बनाउन भूमिका खेल्ने निर्वाचन समितिलाई धन्यवाद दिए ।