२०८३ बैशाख १९ गते , शनिबार

सुनकोशी नदीमा बेपत्ता इलामका पौडेलसहित तीनै जनाको अवस्था अज्ञात

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १९ गते , शुक्रबार
सुनकोशी नदीमा बेपत्ता इलामका पौडेलसहित तीनै जनाको अवस्था अज्ञात

बिर्तामोड । सुनकोशी नदीमा शुक्रबार मध्यान्ह स्कार्पियो खस्दा बेपत्ता भएका तीनै जनाको अवस्था अझै अज्ञात छ ।

बेपत्ता हुनेमा इलाम फाकफोकथुम गाउँपालिकाका घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत ३२ बर्षीय भानु पौडेल, तनहुँ भानु नगरपालिका९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल छन् ।

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बा १ झ ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका७ लौकुन नभघाटबाट सुनकोशी नदीमा  खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।

सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको छ । उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।   

सम्बन्धित समाचार