२०८३ बैशाख १९ गते , शनिबार

पहिचान पक्षधर नेता कार्यकर्ता छुट्ने भएपछि अनिश्चितकालीन आमहड्ताल फिर्ता

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १६ गते , मंगलबार
पहिचान पक्षधर नेता कार्यकर्ता छुट्ने भएपछि अनिश्चितकालीन आमहड्ताल फिर्ता

विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेशमा बुधबारबाट घोषणा गरेको अनिश्चितकालीन आमहडताल फिर्ता लिएका छन् । आइतबार पक्राउ परेका २६ नेता तथा कार्यकर्तालाई नछाडेको भन्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले बुधबारबाट अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको थियो ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि आमहडताल फिर्ता भएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

बैठकमा आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति पनि भएको छ। सुरक्षा अधिकारी र आन्दोलनरत पक्षका प्रतिनिधिबीच भएको छलफलले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेको हो ।

पहिचान पक्षधरले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । सहमतिपछि आइतबार पक्राउ परेका २६ जना आन्दोलनकारी छुटेका छन् ।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ। प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको हो ।

आइतबार प्रहरीले ८६ जनालाई पक्राउ गरेको थियो। ती मध्ये ६० जना सोही दिन राति छुटेका थिए । २६ जनालाई भने मुद्दा चलाउने भन्दै प्रहरीले छाडेको थिएन् । आन्दोलनरत पक्षसँगको छलफलपछि प्रहरी छाड्न तयार भएको हो ।

पहिचान पक्षधर नेता राईले आमहडताल फिर्ता भएपनि प्रदेशसभा केन्द्रित शान्तिपूर्ण आन्दोलन भने जारी रहने बताए । बुधबार प्रदेशको दोस्रो तथा बजेट अधिवेशनको दोस्रो बैठक बस्दैछ । सो बैठकलाई लक्षित गरी शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए । आइतबारको प्रदर्शनमा भने प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।

सम्बन्धित समाचार