बास्तोलाद्वारा खानेपानीमा उम्मेदवारी आचारसंहिता विपरित नभएको प्रष्टोक्ति
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी १५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मेघराज बास्तोलाले आफ्नो उम्मेदवारी आचारसंहिता विपरित नभएको स्पष्ट पारेका छन् । उनले आफ्नो उम्मेदवारी आचारसंहिता विपरित भन्दै लगाइएको आरोप निराधार भएको बताएका छन् ।
केही सञ्चार माध्यममा आफ्नो उम्मेदवारीका विषयलाई लिएर आचार संहिता विपरित कार्य भएको भन्दै हल्ला चलाइएको र सो हल्लाका पछि नलाग्न उनले आम मतदातालाई आग्रह समेत गरेका छन् ।
हल्ला चलाउनेहरुले कर्मचारीले उम्मेद्वार हुन नपाउने भनी प्रचार गरेको भएता पनि २०८० वैशाख १४ मा प्रकाशित प्रदेश राजपत्र भाग १ खण्ड ७ को उपदफा (च) अनुसार आर्थिक लाभ वा सुविधा नलिने, कार्यालयको काममा बाधा नपर्ने र स्थानीय तहको अहित नहुने गरी आफ्नो गैर राजनीतिक प्रकृतिको सामाजिक संस्थामा आवद्ध हुन पाउने स्पष्ट प्रावधान रहेको बास्तोलाले बताए ।
‘बिर्तामोड नगरपालिकाकामा कार्यरत म संघीय सरकारको कर्मचारी नरहेको बताउँदै आफू स्थानीय तहको अन्य कर्मचारी दरवन्दीमा कार्यरत रहेको हुँदा प्रदेश राजपत्र खण्ड ७ को उपदफा ३ को १ को क, ख, ग , घ, ङ, र च अनुसारका कार्य गर्न कुनै वाधा नपुग्ने राजपत्रमा नै स्पष्ट उल्लेख भई प्रकाशित भएको हुँदा पराजित मानसिकताले चलाएको भ्रम र हल्लाका पछि नलाग्न म आग्रह गर्छु’ बास्तोलाले भने ।
वास्तोला यस अघि बिर्तामोड साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको दुई कार्यकाल सचिव र एक कार्यकाल सदस्य रही कार्य अनुभव सम्हालिसकेका उम्मेद्वार हुन् । उम्मेद्वारी उपर दावीविरोध गर्ने निर्वाचन समितिले निर्धारण गरेको समय भित्र कुनै उजुरी नपरेको अवस्थामा अहिले भ्रमको खेती गर्नुको कुनै औचित्य नभएको उनको भनाई छ ।