२०८३ बैशाख १९ गते , शनिबार

विद्युत पोलमा हुकिङ गर्दा विद्यार्थीको मृत्यु भएपछि....

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १३ गते , शनिबार
विद्युत पोलमा हुकिङ गर्दा विद्यार्थीको मृत्यु भएपछि....

सप्तरी । विद्यालय प्रशासनको लापर्बाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै शुक्रबार बिहानैदेखि पीडित पक्षले राजविराजकुनौली सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरूले उचित क्षतिपूर्ति तथा लापर्बाही गर्ने प्रिन्सिपल र शिक्षकमाथि कारबाहीको माग गर्दै आक्रामक ढंगले प्रदर्शन गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरूले बिहानैदेखि चक्काजाम, नाराबाजी तथा विद्यालयमा ढुंगामुढा गरेका थिए । घटना विवरणअनुसार राजविराज नगरपालिका५ सँग जोडिएको विष्णुपुर गाउँपालिकास्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत १७ वर्षीय राजा भन्ने पेसलानन्द यादवलाई बिहान ७ बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका यादवलाई तत्कालै उपचारका लागि स्थानीय छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मृतकका भाइ रोशनका अनुसार विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार विद्यालय प्रशासनद्वारा आयोजना गरिएको अन्तरकक्षा क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रममा साउन्ड सिस्टम बजाउन प्रिन्सिपल नरेशप्रताप साहको उपस्थितिमा शिक्षकद्वय रुपेश साह र सतपाल सुडीले बिजुलीको पोलमा दाजु पेसलानन्दलाई हुकिङ गर्न लगाएका थिए । सोही क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।

प्रिन्सिपल साहले भने साउन्ड सिस्टम बजाउन विद्युत् हुकिङ गर्न विद्यार्थीलाई आपूmहरूले नभनेको तर शिक्षकको उपस्थितिमा भएको दुःखद घटनाले केही कमजोरी भने भएको स्विकारेका छन् । उनले यस घटनाको आन्तरिकस्तरबाट समेत छानबिन गर्ने बताएका छन् । पेशालानन्द पढाइका साथै क्रिकेट खेलमा पनि अब्बल थिए ।

उनको मृत्युले शोकमा डुबेका परिवारले शुक्रबार नै विद्यालयका प्रिन्सिपल र शिक्षकविरुद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् । मृतकका बुबा लक्ष्मणप्रसाद यादवद्वारा बुझाइएको जाहेरीमा घटनाको सत्यतथ्य छानबिन, दोषीलाई ज्यान कसुरसम्बन्धी मुद्दामा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

सम्बन्धित समाचार